आफ्नो मुद्दा मिलाइदिनू भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकृतलाई घुस दिने एक सरकारी कर्मचारी पक्राउ परेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले मुद्दा मिलाइदिनू भन्दै अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घुस दिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सापकोटालाई एक लाख रूपैयाँ रकमसहित कञ्चनपुर कार्यालयबाट नियन्त्रणमा लिइएको छ।
सापकोटाले अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो। उक्त उजुरीमाथि आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गर्दै स्थलगत मुचुल्का र आरोपीहरूको बयान लिने काम सम्पन्न गरिसकेको छ।
त्यसै सिलसिलामा सापकोटा केही कागजात बुझाउन भन्दै कञ्चनपुर कार्यालयका अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगेका थिए।
उनले कागजातसहितको खाम अनुसन्धान अधिकृतलाई दिन खोजे।
अधिकृतले आफैले खोलेर दिनू भनेपछि सापकोटाले हरियो रंगको झोलाबाट ३१ थान कागजात र एक लाख रूपैयाँ दिन खोजे। उनले पहेँलो खाममा हजार रूपैयाँ दरका नोट ९६ वटा र ५ सय दरका नोट ८ वटा ल्याएका थिए।
अनुसन्धान अधिकृतले 'यो के को पैसा हो' भनेर सोध्दा उनले 'मुद्दा मिलाइदिन तपाईंका लागि स्वेच्छाले ल्याएको' भनी जबाफ दिएको आयोगको विज्ञप्तिमा छ।
सापकोटालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।