अंग्रेजी शब्दहरू डिप्रेसन र क्लिनिकल डिप्रेसनमा भिन्नता छ।
डिप्रेसन भन्नाले कुनै पनि कुराको निराशापन भनौं या उदासीनता हो। जस्तो केही चोटपटक लाग्यो, उदास भयो, एक दिनका लागि घरमा कसैसँग झगडा भयो, दुई/चार घन्टा उदास भयो र सकिन सक्छ।
क्लिनिकल डिप्रेसन भनेको चाहिँ उदासीनताको रोग हो। कुनै घटना वा समस्याबिना मान्छे उदास हुन्छ र बिहानदेखि साँझसम्म लगातार दुई साताभन्दा बढी समय उदास हुन्छ भने त्यो क्लिनिकल डिप्रेसन हो।
डिप्रेसनका लक्षणः
- शरीर थाक्नु
- पहिले रमाइलो लाग्ने कुरामा रमाइलो नलाग्नु
- वर्तमान र भविष्यका बारेमा नकारात्मक सोच आउनु
- आफूलाई हानि गर्ने वा आत्महत्याको सोच आउनु
- आत्मबल कम हुनु
- निद्रा नलाग्नु, छटपटी हुनु
- खाना खान अरूचि हुनु।
यस्ता समस्या या लक्षणहरू दुई साताभन्दा बढी रहेमा हामीले यसलाई क्लिनिकल डिप्रेसनको नाम दिन्छौं।
डिप्रेसन ठ्याक्कै यही कारणले हुन्छ भनेर भन्न धेरै गाह्रो छ। हामीले यसलाई बायो साइको-सोसियल मोडल भन्छौं। यसको अर्थ यसमा शारीरिक, मनोवैज्ञानिक र सामाजिक कुराको असर पर्छ भन्ने हो।
बायोलोजिकलमा सबभन्दा बढी वंशाणुगत कुरा आउँछ। परिवारमा कसैलाई डिप्रेसन थियो भने यसको सम्भावना बढी भएर जान्छ। त्यसैगरी न्युरो-केमिकल्स; सेरोटोनिन, डोपामिन जस्ता गडबडीले पनि डिप्रेसन हुन्छ। त्यस्तै मधुमेह, क्यान्सर जस्ता रोग वा दिमागमा चोटपटक लागेको, मेनेन्जाइटिस भएको लगायत कारणले समेत हुनसक्छ।
मनोवैज्ञानिक कुरामा मान्छेले कुनै पनि कुरा सहने, व्यवस्थापन गर्ने, सहने वा सामना गर्ने क्षमता कति छ र कसरी गर्छ भन्ने हुन्छ। यो क्षमता कम छ भने साना कुराले पनि धेरै असर गर्छ।
सामाजिक कुरा भनेको आर्थिक कारण, विपद, द्वन्द्व, महामारी जस्ता कुराको प्रभाव हो।
त्यसैले एउटा मात्र कारणले डिप्रेसन भयो भन्न मिल्दैन। मिश्रित कारण हुन्छ।
विश्वमा ५ प्रतिशत मानिसलाई डिप्रेसन रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।
उमेरको कुरा गर्ने हो भने ६० वर्षभन्दा माथिकालाई धेरै हुन्छ। यो उमेर समूहका ६ देखि ७ प्रतिशतमा डिप्रेसन देखिन्छ। योभन्दा पनि बढी गर्भवती र भर्खर सुत्केरी भएकाहरूलाई हुन्छ। यस्ता महिलाहरूमा १० देखि १५ प्रतिशतलाई डिप्रेसन देखिन्छ।
१८ वर्षमाथिका व्यक्तिहरूमा ३ देखि ४ प्रतिशतलाई डिप्रेसन हुन्छ। १३ वर्षदेखि १८ वर्षसम्मका १ देखि १.५ प्रतिशतलाई डिप्रेसन देखिन्छ।
यो नेपालको सन् २०२० को तथ्यांक अनुसार हो। विश्वको तथ्यांक र हाम्रोमा एउटै खालको छ।
डिप्रेसनको उपचार
डिप्रेसनको उपचार कुन अवस्थामा छ भन्नेमा भर पर्छ। डिप्रेसनलाई हामीले माइल्ड (सामान्य), मोडरेट (मध्यम) र सिभियर (गम्भीर) भनेर तीन भागमा बाँड्छौं।
सामान्यमा लक्षण कम हुन्छ र असर पनि कम पारिरहेको हुन्छ। मध्यम डिप्रेसन परामर्श (काउन्सिलिङ) ले ठीक पार्न सक्छ। परिवारको हेरचाह, खानपिन, व्यायाम र निद्रा मिलाउँदा ठीक हुन सक्छ।
गम्भीर डिप्रेसन भइसकेपछि औषधि उपचारकै कुरा आउँछ। त्यसमा एन्टि-डिप्रेसेन्ट औषधि हुन्छ। काउन्सिलिङ र थेरापीको पनि उत्तिकै महत्व हुन्छ। यी सबै मिलाएर उपचार हुन्छ।
डिप्रेसनबाट जोगिने उपाय
यसो गरियो भने डिप्रेसन रोक्न सकिन्छ भनेर अझै भन्न सकिने अवस्था छैन। अहिलेसम्मको अनुसन्धानले देखाए अनुसार दुई/चार वटा उपाय अपनाइयो भने डिप्रेसन हुने सम्भावना कम हुन्छ।
१. आफूलाई मनपर्ने गतिविधिमा संलग्न हुने
२. सधैं व्यायाम गर्ने
३. सन्तुलित भोजन गर्ने
४. जाँड, रक्सी, चुरोट, गाँजाबाट टाढा रहने
५. आफ्ना कुरा अरू समक्ष राख्ने
६. एकअर्कालाई सहयोग गर्ने
७. समयमा सुत्ने अनि समयमा उठ्ने।
निद्रा लागेन भने व्यायाम गरेर, हातखुट्टा धोएर सुत्न जान सकिन्छ। निद्रा बिग्रिने ठाउँमा धेरै बस्न हुँदैन। डिप्रेसनका लक्षण देखियो भने चिकित्सकलाई भेट्न अप्ठ्यारो मान्न हुँदैन। समयमै चिकित्सकको परामर्श लिइयो भने औषधि खानु नपर्ने हुन सक्छ। थोरै समयमा निको हुन सक्छ। त्यसैले उपचारका लागि ढिलो गर्नु हुँदैन।
(पाटन अस्पताल, माइन्ड क्लिनिक र चिरायु अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. पवन शर्मासँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानी)