नेपाल पत्रकार महासंघ दाङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
बिहीबार सन्तोष सुवेदीको नेतृत्वमा सबै पदहरू सर्वसम्मतले चयन भएको हो। यसअघि सुवेदी उपाध्यक्ष थिए।
नेपाल प्रेस युनियन र प्रेस चौतारी बीच भएको गठबन्धन अनुसार दाङ नेपाल प्रेस युनियनका भागमा परेको थियो।
युनियनको भागमा परे पनि प्रेस सेन्टर नेपाल, जनवादी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संगठन लगायतलाई पनि केही पदहरू भागवण्डा गर्न सहमति भएपछि दाङमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
पेशागत संगठनहरूबीच अघिल्लो दिन नै भएको लिखित समझदारी अनुसार मनोनयन दर्ता गर्दा बिहीबार अपराह्न चार बजेसम्म अन्य कसैले उम्मेदवारी दिएका थिएनन्।
त्यसैका आधारमा दाङ शाखामा अध्यक्ष सुवेदीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरिएको निर्वाचन समितिका संयोजक सुदीप गौतमले जानकारी दिए। दाङ शाखामा १८ सदस्य कार्यसमिति छ।