इरानले सिरियाका राष्ट्रपति बशर अल-असदको बहिर्गमन अमेरिका र इसराइलको योजनामा भएको आरोप लगाएको छ।
इरानका सर्वोच्च कमाण्डर आयातोल्लाह अलि खामेनीले सिरियाबाट भागेका राष्ट्रपति असदको बहिर्गमन अमेरिका-इसराइलको योजनामा भएको भन्दै आरोप लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ।
‘यसका षड्यन्त्रकारी र मुख्य कमाण्ड सेन्टर अमेरिका र जायोनिस्ट राज्य हो भन्नेमा कुनै शंका रहेन,’ खामेनीले भने, ‘हामीसँग चुनौती दिन नसकिने खालका सुराकहरू छन्।’
त्यस्तै खामेनीले टर्कीको पनि यसमा भूमिका रहेको तर अमेरिका र इसराइल नै मुख्य षड्यन्त्रकारी रहेको आरोप लगाएका हुन्।
अमेरिका र इसराइलविरूद्धको ‘एक्सिस अफ रेजिस्टेन्स’मा इरानका लागि असद नेतृत्वको सिरिया मुख्य कडी थियो।
इसराइलसँग आफ्नो सिमाना नजोडिएकाले इरानले घेराबन्दी छिमेकी देशहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। असद वंशले राज गरेको सिरियाको भूमि पनि हिजबुल्लाहलाई हतियार दिन र हमासलाई समर्थन गर्न इरानले प्रयोग गर्दै आएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुर्दस् फोर्सले इसराइल र अमेरिकाविरूद्ध बनाएको विदेशी समूहहरूको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ।
सिरियाबाट असदको बहिर्गमनपछि खामेनीले मोर्चाबन्दी थप बलियो हुने र पूरै क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्ने बताए।
मंसिर २३ गते सिरियाका विद्रोही लडाकूहरू दमास्कस पुगेपछि राष्ट्रपति असदले देश छाडेका थिए। सुरूमा उनी कहाँ गए भन्ने गोप्य राखिएको थियो।
पछि उनी आफ्ना परिवारसहित रूस पुगेको खुलेको थियो। असदले देश छाडेलगत्तै विद्रोही लडाकूहरूले सिरिया असदको शासनबाट मुक्त भएको घोषणा गरेका थिए।
असदको परिवारले सिरियामा पाँच दशकभन्दा बढी शासन गरेका थिए।
यो पनि: ५० वर्षदेखि सिरियामा अकन्टक राज गर्दै आएको असद वंशको शासन यसरी ढल्यो