गोरखाको बारपाक गाउँकी १८ वर्षीया सुचिना घलेको हत्या अभियोगमा प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाककी घलेको हत्या अभियोगमा प्रहरीले बारपाक सुलिकोट १ नै घर भएका ४२ वर्षीय मन शमजेर गुरूङलाई नियन्त्रणमा लिई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
घटनाको १० दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो।
मंसिर १५ गते घाँस काट्न जंगलमा गएकी उनी बेलुकीसम्म घर नफर्केपछि परिवार र छिमेकीले खोजी गरेका थिए।
बारपाक प्रहरी चौकी, इलाका प्रहरी कार्यालय जौबारी र बारपाकीहरूले तीन दिन खोजी गरेपछि गाडेको अवस्थामा उनको शव मंसिर १८ गते जंगलमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक बासुदेव पाठकले पत्रकार सम्मेलनमा बताएअनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट घाँस काट्न सुचिना अघिअघि र उनको पिछा गर्दै अभियुक्त गुरूङ जंगल गएको खुलेको छ।
‘प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार घाँस काट्न सुचिना घले अघिअघि गएको र उनको पछिपछि अभियुक्त गुरूङ गएको र जंगलमा एकै ठाउँमा पुगेको देखिन्छ,’ एसपी पाठकले भने, ‘त्यस बेला अभियुक्तको मनमा पाप पलाउँछ, उनले एकपटक प्रयास गर्छन्, जबरजस्ती गर्छन्, अनुरोध गर्छन्। नमानेपछि जबरजती गर्न खोज्छन्। तर सुचिनाले कडा प्रतिवाद गर्छिन्, हतियार प्रहार गर्छिन्, अभियुक्तको हातमा चोट पनि देखिन्छ। त्यहाँ केहीबेर हानाहानको अवस्था रहन्छ।’
जबरजस्ती गर्न खोजेपछि घलेले कडा प्रतिवाद गरेको, पटक-पटक चिच्याएको पनि प्रारम्भिक बयानका क्रममा अभियुक्त गुरूङले बताएको प्रहरी उपरीक्षक पाठकले सेतोपाटीलाई जानकारी दिए।
‘घले चिच्याउँछिन्। धेरै पटक चिच्याएपछि कसैले सुन्छन् र आफू फस्छु भनेर अभियुक्तले घलेलाई लडाएर वरपर रहेका घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिन्छन्, शिथिल भएपछि अभियुक्तले शव व्यवस्थापन गरेको देखिन्छ,’ उनले भने।
जंगलमा घाँसका स-साना मुठा फेला परेको ठाउँनजिकै घलेको शव माटोमुनि गाडेको अवस्थामा फेला परेको थियो। शवलाई निकालेर पोस्टमर्टम गरिएको थियो।
गोरखा प्रहरीले पोस्टमर्टम रिपोर्ट पनि आइसकेको जनाएको छ।
‘अभियुक्तले बलात्कार प्रयास गरेको तर बलात्कार गरेको देखिँदैन। बलात्कार भएको हालसम्म देखिँदैन। पोस्टमर्टम रिपोर्टले पनि यो कुरा प्रष्ट गरिदिएको छ,’ उनले भने।
अभियुक्त गुरूङ बारपाककै एक निजी विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ।
यो घटनामा प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी नेतृत्वको टोलीले बारपाकमा रहेर अनुसन्धान गरेका थिए। घटनामा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको थियो।
घटनास्थलमा फेला परेको टोपीलगायत प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो। यस घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पाठकले जानकारी दिए।