७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा र्याली भएको छ।
काठमाडौंको माइतीघर, रत्नपार्क लगायतका स्थानमा मानव अधिकारवादीहरूले र्याली गरेका हुन्।
र्यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारासहित यस वर्षको ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने बताए।
उनले यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सीमान्तकृत व्यक्तिहरूलाई लक्षित गरिएको बताए।
उनले संविधानमा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेका व्यक्तिहरू महिला, दलित लगायत सीमान्तकृत व्यक्तिहरूको लागि पनि समानुपातिक, समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता हुनुपर्ने बताए।
उनले सीमान्तकृत समुदायले प्राप्त गर्न नसकेको अधिकारहरूको सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने बताए।
उनले भने, ‘मानव अधिकार, आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार भन्ने नारा रहेको छ। अहिले सीमान्तकृत व्यक्तिहरूलाई लक्षित गरिएको छ। हाम्रो संविधानमा सामाजिक न्यायको हक छ। सामाजिक न्यायको हकमा स्पष्ट रूपमा भनिएको छ। आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेका व्यक्तिहरू महिला, दलित लगायत सीमान्तकृत व्यक्तिहरूको लागि पनि समानुपातिक, समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिता हुनेछ भन्ने छ। के यो हक बमोजिक सीमान्तकृत व्यक्तिले अधिकार पाएका छन् त? त्यो हामीले मूल्यांकन गर्नुपर्ने अवस्था छ। उनीहरूलाई कसरी ती हक दिलाउने भन्नेकुरा महत्वपूर्ण छ।’
मानव अधिकारकर्मीहरूले घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार, जलवायु न्याय अहिलेको आवश्यकता लगायतका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका छन्। —न्युज एजेन्सी नेपाल