रौतहटमा आठ जनाको ज्यान जानेगरी भएको दुर्घटना चालक निदाएकाले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा बा १६ च ३१६२ नम्बरको गाडी दुर्घटनामा परेको थियो।
बिहान प्रहरीको कन्ट्रोलमा फोन आएपछि इलाका प्रहरी कार्यालय चपुरबाट डिएसपी राजकुमार राई र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको कमाण्डमा टोली खटिएको थियो।
दुर्घटनामा आठ जनाको मृत्यु र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
निरीक्षक लोकेन्द्र अधिकारीले चालक निदाएको हुनाले दुर्घटनामा परेको अनुमान गरे। चालक अर्नमा गाउँपालिका वडा नम्बर ५ बलुवाटोल बस्ने ४० वर्षीय चालक श्रीकुमार यादव थिए।
उक्त गाडीमा सिराहा अर्नमा गाउँपालिका-३ का ७ महिला र चालक गरी आठ जनाको ज्यान गुमेको थियो। ती महिलाहरू एक समूहबाट गढीमाई मेलामा दर्शन गर्न भनेर आइतबार पुगेका थिए।
‘उहाँहरू एक समूहबाट मेलामा जानुभएको देखिन्छ। शनिबार वा आइतबार नै उहाँहरू त्यहाँ आउनुभएको देखिन्छ। सोमबार अबेर राति मात्र उहाँहरू फर्किएको देखिन्छ,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘मेलामा अनिद्रा पनि भएको हुनसक्छ।’
उनका अनुसार गढीमाई मेलाका कारण राजमार्ग पनि लामो समय जाममा परेको थियो। त्यस्तै उक्त गाडी राति अबेर मात्रै हिँडेको हुनुपर्ने उनले अनुमान गरे।
‘दर्शन गरेर फर्किंदा १० बजेपछि मात्रै हिँड्नुभयो होला। जामका कारणले ११/१२ बजेको हुनुपर्छ,’ उनले भने।
त्यस्तै, घटनास्थलमा कुनै पनि ‘स्किड मार्क’ अर्थात् घिस्रिएका चिह्रहरू नभएको पनि उनले बताए। कुनै पनि दुर्घटनामा अचानक अनियन्त्रित भएर ब्रेक लगाएको अवस्थामा घिस्रिएका चिह्रहरू हुने उनी बताउँछन्।
‘सिधा बाटो छ। घुमाउँरो बाटो भएको भए पनि चालक निदाउने थिएन होला। हेर्दा उहाँ निद्रामा परेको जस्तो देखिन्छ। गाडीमा सबै यात्रुहरू पनि निदाएका थिए कि, गफ गर्न पनि कोही नभएको अवस्थामा सिधै गएर रूखमा बजारिएको देखिन्छ,’ उनले भने, ‘गाडीको गति पनि तीव्र भएकाले बेस्सरी ठोक्किएको छ।’
दुर्घटना पहिलो र दोस्रो तहमा बसेका आठ जनाले ज्यान गुमाएका हुन्। तेस्रो तहमा बसेका र बालक दुई जनाले ज्यान जोगाएका हुन्।
सिराहा अर्नमा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो। ४० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको हो।
यस दुर्घटनामा परी घाइते पाँच जनामध्ये एक जनाको अवस्था गम्भीर छ। ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएको छ।
मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पुर्याइएको छ। गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ। प्रहरी निरीक्षक अधिकारीका अनुसार जामकै कारणले पनि दुर्घटनामा परेको गाडी बिहान मात्रै ल्याइपुर्याइएको हो।