काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ।
मंगलबार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो। कबाडी संकलन केन्द्र र बंगुरपालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए।
आगलागीको जानकारी हुनेबित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको उनले बताए।
आगलागी भएको स्थानमा जस्तापाताका टहरा धेरै भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ।
स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले जानकारी दिए। आगो निभाउन तीन वटा दमकल प्रयोग गरिएको छ।
अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ।
(न्युज एजेन्सी नेपाल)