राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान लिन प्रहरीले सरकारी वकिलको कार्यालय पर्सामा पठाएको छ।
मंगलबार बिहान सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सरकारी वकिलको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए।
कास्कीबाट उनलाई सोमबार जहाजमा काठमाडौं र त्यहाँबाट सिमरा हुँदै गाडीमा हालेर पर्सा पुर्याइएको थियो।
यस्तै आइतबार राति नै पर्सा पुर्याइएका पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई भने मंगलबार कास्की फिर्ता गर्ने तयारी हुँदैछ।
सरकारी वकिलको कार्यालयमा सोमबार उनीहरू दुबै जनाको बयान लिएर सकिएको डिएसपी लम्सालले बताए।
‘उहाँहरूको बयान हिजै सकियो। आज फर्काउनका लागि तयारी हुँदैछ,’ उनले भने।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।