रौतहटमा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो।
सिराहा अर्नमा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो।
त्यस्तै ४० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको हो।
यस दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएको छ।
मृतक आठै जनाको शव चपुरस्थित सरकारी अस्पतालमा पुर्याइएको छ। गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरमा लगिएको छ।