काठमाडौं उपत्यकामा ध्वनी प्रदुषण गराउने ५२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
मोटरसाइकललाई मोडिफाइ गरी शहरी क्षेत्रमा होहल्ला मच्चाएर ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनााएको छ।
सोमबार मात्रै ट्राफिक प्रहरीले १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो। कार्यालयले मंसिर १९ गतेदेखि वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागसँग समन्वय गरी जाँच गर्दै आएको हो। त्यसदिनयता ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको एसपी संजयबहादुर राउतले जानकारी दिए।
कतिपयले साइलेन्सरमा प्वाल पारेको, साइलेन्सर परिवर्तन गरेको, डिभी किलर झिकेर ठूलो आवाज निकाल्ने गरेको एसपी राउतले बताए।
नियन्त्रणमा लिएका मोटरसाइकलाई वातावरण विभागले परीक्षण गराइ स्वरुप परिवर्तन गरेकालाई आवश्यक कारवाहीका लागी यातायात व्यवस्था कार्यालय सतुंगल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरीवाना गरिने छ।
ध्वनी प्रदुषण गराइ सवारी साधन चलाउँदा बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल, स्कुल) मा प्रत्यक्ष असर पर्ने भएकाले जाँचलाई अभियानकै रुपमा अगाडि बढाइएको एसपी राउतले बताए।