ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रूप परिवर्तन गरी सहरी क्षेत्रमा ध्वनी प्रदूषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्कासमेत निकाल्ने बनाइएका मोटरसाइकल सोमबार नियन्त्रणमा लिएको हो।
ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा जाँच गर्दा ती सवारी साधन फेला पारेको हो।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डिभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए।