राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सा पुर्याइएको छ।
सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पर्सा ल्याइसकेको कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए।
कास्कीबाट उनलाई जहाजमा काठमाडौं र त्यहाँबाट सिमरा हुँदै गाडीमा हालेर पर्सा लगिएको हो। उनको बयान आज हुने सम्भावना नरहेको पनि डिएसपी लम्सालले बताए।
गएराति नै पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्सका संचालक रामबहादुर खनाललाई पर्सा पुर्याइसकेको थियो।
सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।
त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।