हाम्रो नाकमा धेरै खालका साइनसहरू हुन्छन्। ती साइनसको संक्रमणलाई हामी साइनोसाइटिस भन्छौं। आम मानिसले त्यसलाई बुझ्ने पिनास भनेर हो।
पिनास दुई किसिमका हुन्छन् — एक्युट साइनोसाइटिस (गम्भीर प्रकृतिको पिनास) र क्रोनिक साइनोसाइटिस (दीर्घकालीन प्रकृतिको पिनास)।
एक्युट खालको पिनास छोटो समयमा निको हुन्छ भने क्रोनिक पिनास निको हुन लामो समय लाग्छ। तीन महिनासम्म निको भएन भने त्यो क्रोनिक साइनोसाइटिस हो।
पिनास विभिन्न कारणले हुन्छ तर मुख्य कारण भनेको संक्रमणले गर्दा हो। सुरूमा भाइरल इन्फेक्सनबाट रूघा सुरू हुन्छ। त्यसपछि पिनास हुन्छ।
पिनासका लक्षणहरू
- नाक बन्द हुने
- नाकबाट सिँगान बग्ने
- टाउको दुख्ने
- बाक्लो बाक्लो सिंगान आउने
- गन्धहरू हराउँदै जाने
- दाँत दुख्ने
- खोकी लाग्ने
- गन्हाउने सिंगान आउनु।
धेरैलाई टाउको दुख्नासाथ पिनास भयो भन्ने लाग्छ। तर पिनासले टाउको मात्र नदुखाइकन अन्य समस्याहरू पनि निम्त्याउँछ।
सुरूमा भाइरल इन्फेक्सनबाट सुरू हुँदा यसको उपचार भनेको लक्षणका आधारमा गर्ने हो। ज्वरो आएको छ भने सिटामोल खाने, नाक बन्द भएको छ भने त्यही अनुसारको औषधि राख्ने गर्नुपर्छ। तर जब भाइरल इन्फेक्सनबाट ब्याक्टेरियल इन्फेक्सनमा जान्छ, त्यसपछि भने एन्टिबायोटिक खानुपर्छ। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक खान हुँदैन। कहिलेकाहीँ एन्टिबायोटिकले समेत निको नहुने अवस्था आयो भने अपरेसनबाट उपचार गर्नुपर्ने हुन्छ।
पिनास हुने उमेरबारे अलि फरक छ। जस्तो, बच्चामा सबै साइनसहरू राम्रोसँग विकास नभएकाले साइनोसाइटिस हुने सम्भावना अलि कमै हुन्छ। वयस्क र उमेर ढल्किँदै गएपछि भने सम्भावना बढ्छ।
कस्तो बेला अपरेसन गर्ने?
तीन महिनाभन्दा धेरै पिनासको लक्षण देखियो टाउको दुख्ने, भारी हुने, आँखाको गेडाहरू दुखिरहने, नाक बन्द हुने, नाकबाट बाक्लो सिँगान बग्ने भइरह्यो भने ख्याल गर्नुपर्छ। अर्थात् लामो समयसम्म औषधि-उपचार गर्दा पनि ठीक भएन भने अपरेसनको विधिबाट उपचार गर्नुपर्छ। अपरेसनका विधि विभिन्न खाले हुन सक्छन्। तर अपरेसन गर्नुपर्ने हुनसक्छ है भनेर बिरामीले जान्न जरूरी छ।
पिनास आफैमा पनि औषधिले ठीक नहुन सक्छ। कसैको सुरूमै साइनस बन्द भएको हुन सक्छ। कहिलेकाहीँ पिनासमा मासु पलाएर नाक बन्द हुन सक्छ। यस्तो बेला औषधिले ठीक भएन भने अपरेसन गर्नुपर्ने हुन सक्छ।
धेरैलाई पिनास हुनासाथ यो क्रोनिक हो निको हुँदैन भन्ने लाग्ने रहेछ। तर हामी एकदमै राम्रोसँग परीक्षण गरेर सबै खाले अनुसन्धान गरेपछि मात्रै यसबारे निष्कर्ष निकाल्छौं। इन्डोस्कोपी र परी आएमा सिटी-स्क्यान गरेर हेरेर मात्र अपरेसनको निर्णय गर्छौं। अहिले अपरेसनका लागि एकदमै धेरै प्रविधिको विकास भएको छ।
हामीले अपरेसन गर्दा दुरबिन प्रविधिबाट, चिरफार नगरी गर्छौं। पहिलाजस्तो ठूलो र गाह्रो अपरेसन हुँदैन। वीर अस्पतालमा नियमित हुनेमा पिनासको अपरेसन पनि पर्छ। त्यसैले अपरेसन भन्दैमा डराइहाल्न पर्दैन।
पिनास धेरै बिग्रिए के हुन्छ?
कहिलेकाहीँ पिनास बढ्दै जान्छ। त्यो सरेर आँखामा जान सक्छ। पछिल्लो समय वीर अस्पतालमा एउटा जटिलता आएको थियो। पिनास बिग्रिएर आँखामा सरेको थियो। आँखा सुन्निएर बिरामी अस्पताल आउनुभएको थियो। पिनासले आँखामा पूरै समस्या देखिनेसम्म हुन सक्छ। त्यस्तै दिमागमा पिप जमेर मेनेन्जाइटिस समेत हुनसक्छ।
पिनासबाट कसरी जोगिने?
हामीले विज्ञानले बताए अनुसार पिनास उपचार गर्छौं। त्यसैले अरू यस्ता खालका उपचार गर या नगर भन्न मिल्दैन। पिनास भएको बेलामा बाफ लियो भने त्यसले केही सहज बनाउन सक्छ। तर नाक बन्द हुँदैमा बाफ लिएर हुँदैन। एलर्जी भएको बेलामा बाफ लिन हुँदैन। धैरै बिरामीले बाफ लिएको तर झन् गाह्रो भयो भनेका हुन्छन्। त्यसैले पिनासबाहेक अरू रूघामा बाफ लिन मिल्दैन।
पिनासका बिरामीले दूधको परिकार बाहेक बार्न पर्ने अरू खाना छैन। दूधका परिकारले पिनास बनाउने पदार्थ उत्पादन गर्ने भएकाले नखान भनिएको हो।
पिनास जहिले पनि भाइरल इन्फेक्सनबाट सुरू हुन्छ। कोभिडका समयमा मास्क प्रयोग गर्दा पिनास कम भएको थियो। धेरैजसो एक्युट साइनोसाइटिस भाइरल इन्फेक्सनबाट सुरू हुन्छ। रूघा लागेको मान्छेले मास्क लायो भने सर्ने सम्भावना कम हुन्छ। त्यसैले पिनासका बिरामीले मास्क लाउनु राम्रो हो।
हेर्नुस् वीर अस्पतालमा कार्यरत सहप्राध्यापक एवं वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अरूण केसीसँग सेतोपाटीका सन्जिब बगालेले गरेको भिडिओ कुराकानीः