मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगिएको छ।
सोमबार प्रसाईंलाई सिआइबीमा अनुसन्धानका लागि ल्याइएको एसपी होबिन्द्र बोगटीले बताए।
अहिले उनीमाथि संगठित अपराध कसुर र आपराधिक लाभ लिन नहुने कसुरमा सरकारी वकिल कार्यालय काठमाडौंमा बयान भइरहेको छ।
यसअघि विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा अनुसन्धान गरिरहेको थियो। उक्त अनुसन्धान र बयान सकेर साइबर ब्युरोले आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
उक्त कसुरको अनुसन्धान सकेपछि प्रसाईंलाई सिआइबीले थप अनुसन्धानका लागि ल्याएको हो।
प्रसाईंमाथि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीहरूलाई धम्क्याएको आरोप छ।
उनैले झापाका हरिचन्द्र फुयाललाई ५ लाख रकम दिएर भारतबाट नेपाली व्यापारीहरूलाई ज्यान मार्नेसम्मको धम्की दिने र प्रसाईंसँग माफी माग्नू भन्ने सम्मको धम्की दिने गरेको खुलेको थियो।
सिआइबी प्रमुख एआइजी दिपक थापाका अनुसार व्यापारीहरूलाई धम्की आउन थालेपछि प्रहरीलाई खबर भएको थियो।
सम्पर्कमा आएका व्यापारीहरूले दिनुअघि नै सूचना दिएको हुँदा कसैले दिइसकेको अवस्थाबारे पनि अनुसन्धान भइरहेको उनी बताउँछन्।
‘हामीसँग सूचना आएपछि अनुसन्धान गरेर पक्राउ गर्यौं। कसैलाई दिइसकेको अवस्थाबारे हामीले हेर्दैछौं,’ उनले भने।
यसअघि सिआइबीले प्रसाईंमार्फत फुयाललाई रकम पठाएकोबारे पनि प्रमाण भेटाएको बताएको थियो। यसबारे फुयालले पनि रकमबारे बयानमा खुलाएका छन्।
त्यस्तै उनीहरूबीच बारम्बार फोनमा कुराकानी भएको हिसाबले पनि उनीहरूबीच बलियो कनेक्सन देखिएको प्रहरीको भनाइ छ।
प्रसाईंलाई सिआइबीले गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै आरोप लगाएका थिए।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
सिआइबीमा पनि व्यवासायीहरूलाई भारतका चर्चित गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्ने उजुरी परेको थियो।
यो घटनामा प्रहरीले मंसिर १४ गते फुयाललाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेलगत्तै सिआइबीले प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी लिएको थियो।
अनुसन्धानबाट फुयाल वा प्रसाईंको विश्नोई समूहसँग कुनै पनि कनेक्सन नदेखिएको पनि एआइजी थापाले बताए। उनका अनुसार यस घटनामा संलग्न अझै ६ जना फरार छन्।
लरेन्स विश्नोई भारतमा पछिल्लो समय चर्चामा रहेका गुण्डा नाइके हुन्। उनी हाल भारतको जेलमा छन्।
तर जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन्। उनको समूहमा ७ सयभन्दा धेरै जना मानिस रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। क्यानडा, इटाली, अस्ट्रेलियासम्म उनको पहुँच रहेको समाचारमा उल्लेख छ।
लरेन्स विश्नोईले सन् २०१८ मा सलमान खानको हत्या गर्ने योजना बनाएका थिए। उनले पटक/पटक मार्ने धम्की दिँदै आएका छन्।
यस्तै ६६ वर्षीय पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यामा उनकै ग्याङको संलग्नता छ। भारतका चर्चित गायक सिद्धु मुसेवालाको सन् २०२२ मा हत्या भएको थियो। यसमा पनि सोही ग्याङको संलग्नता रहेको छ।
यो पनि: ह्वाट्सएप हेर्दा प्रसाईंका सहयोगीलाई पाँच लाख गएको देखिन्छ: प्रहरी