नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।
यीमध्ये शर्मा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका साझा उम्मेदवार हुन्।
चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति भएअनुसार उम्मेदवारी परेको थियो।
महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति पनि उनीहरूबीच भएको थियो भने प्रदेशमा पनि उनीहरूले भागबन्डा गरेका थिए।
विपुल पोख्रेलले अध्यक्षबाट राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष रहेका विष्ट कांग्रेसनिकट युनियनका हुन्। सदस्यता विवाद समाधान गर्न नसक्दा उनले पदबाट राजीनामा दिए। युनियनले चौतारीसँग गठबन्धन गरेपछि उनले महासंघ अध्यक्षमा बागी उम्मेदवारी दिएका छन्।
विष्टलाई नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले पनि समर्थन गरेको छ। प्रेस सेन्टरबाट महासंघ अध्यक्षमा उम्मेदवारी दिएका कमल गिरीले उम्मेदवारी लिएर विष्टलाई समर्थन गरेका हुन्।
विष्टलाई नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनलगायत विभिन्न ६ वटा संगठनले समर्थन गरेका छन्। उनीहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म भागबन्डा गरी उम्मेदवारी टुंगो लगाएका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ। आचार्य युनियन र पुरी महासंघका महासचिव तथा प्रेस सेन्टरका हुन्।
उपाध्यक्ष महिलामा गंगा पौडेल बराल र नितु पण्डितबीच प्रतिस्पर्धा हुनेछ भने उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह, सुभाषप्रसाद साहबीच प्रतिस्पर्धा हुने भएको छ।
महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिए पनि थापाले दाहाललाई समर्थन गरेर उम्मेदवारी निक्रिय पारेका छन्।
सचिव खुलामा उत्तरसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडाको उम्मेदवारी परेको छ।
सचिव महिलामा सरिता बराइली र सोनी शर्माबीच प्रतिस्पर्धा हुने भएको छ भने आदिवासी जनजाति सचिवमा टीकाराम प्रधान, भिसन राई र सविन प्रियासनबीच प्रतिस्पर्धा हुनेछ।
सचिव मधेसीमा अशोककुमार तिवारी, प्रविणकुमार चौधरी र श्रीजन झाबीच प्रतिस्पर्धा हुनेछ।
सचिव दलितमा प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, बसन्त विक र सन्तोषकुमार बराइलीबीच प्रतिस्पर्धा हुनेछ।
सचिव एसोसिएटमा योगेश खपाङ्गी, विकास कार्की र बैकुण्ठराज पराजुलीको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा रामकृष्ण अधिकारी र रामकृष्ण ज्ञवालीबीच प्रतिस्पर्धा हुने भएको छ।
महासंघको महाधिवेशन मंसिर २८ गते हुनेछ।