काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल नेतृत्वको समितिले पुनर्निर्माण भैरहेको सानो गौचरण स्टेडियमको अनुगमन गरेको छ।
करिब एक हप्ताअघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भैरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डंगोल र सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारी सहितको टोली सानो गौचरण पुगेको हो।
१८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको छ।
२०८२ चैत मसान्तासम्म सम्पन्न गर्ने गरी काम धमाधम भैरहेको निर्माणस्थलमा पूर्वजानकारी बिना नै डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा केहीबेर अन्योल छाएको थियो।
प्राविधिकसहितको टोली लिएर डंगोल त्यहाँ पुगेपछि त्यहाँ राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो। अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिँदै ढलान कार्यमा रोक लगाएकी थिइन्।
अन्य सामग्रीको भने ल्याब टेष्ट गर्न पठाइएको थियो।
‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना पनि हो। त्यसैले हामीले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौं।’
डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै सानो गौचरणको अनुगमन पनि नियमित भएको जानकारी दिइन्।
‘हामी अनुगमनमा पूर्व जानकारी बिना नै जाने गरेका छौं। आज पनि हामी पूर्वजानकारी बिना नै त्यहाँ पुगेका थियौं। प्राविधिक टिमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौं। अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौं,’ उनले भनिन्, ‘अन्य सामग्री हामीले ल्याब टेष्टका लागि पठाएका छौं।’