मिर्गौला रोगका बिरामीहरू बढ्दै जानुको पछाडि मुख्य दुई कारण देखिएका छन्। एउटा हाम्रो देशमा मिर्गौला रोगको उपचार सुविधा बढेर हो। जसले गर्दा पहिला पत्ता नलागेका रोगहरू अहिले पत्ता लाग्न थालेका छन्। अनि जनचेतना पनि बढ्न थालेको छ। त्यस्तै स्वास्थ्य बीमाले गर्दा पनि धेरैले परीक्षण गर्न सकेका छन्।
अर्को कारण नेपाल, भारत, चीन र बंगलादेशजस्ता देशहरूमा मिर्गौलाका रोगीहरू बढ्नुको कारण नसर्ने रोगहरूको प्रकोप पनि यो क्षेत्रमा धेरै बढेको भएर हो।
मधुमेह र उच्च रक्तचापले गर्दा मिर्गौला धेरै बिग्रिन्छ
मधुमेह र उच्च रक्तचापलाई लापरबाही गरियो भने मिर्गौला बिग्रिने र फेल हुने हुन्छ। अहिले हाम्रो समाजमा युवाहरूमै उच्च रक्तचापको समस्या बढ्दै गएको छ। पहिला उच्च रक्तचाप भनेको बुढाबुढीलाई मात्र हुने रोग भन्ने ठानिन्थ्यो।
त्यस्तै मधुमेह रोग पनि उमेर ढल्केकाहरूलाई मात्र लाग्छ भन्ने गरिन्थ्यो। त्यो केही हदसम्म यथार्थ पनि थियो। तर अहिले आएर यो कुरा गलत सावित भएको छ। पहिला/पहिला ६० उमेर पुग्दा लाग्ने मधुमेह अहिले ३० वर्षकै उमेरमा देखिन थालेको छ। विश्व मिर्गौला संगठनले नै एउटा अनुमान के लगाएको छ भने दक्षिण एसियाली राष्ट्रहहरूमा २०२५ मा मिर्गौला रोगको प्रकोप नै हुन्छ भन्ने छ।जबकि विकसित देशहरूमा यो रोग उमेर ढल्केपछि लाग्ने गर्छ।
उच्च रक्तचाप भएको साधारणतया थाहा हुँदैन। यसले धेरै दुःख दिने बेलामा मात्र थाहा हुन्छ। अनि लामो समयसम्म रक्तचाप नियन्त्रण भएन भने त्यसले मिर्गौलालाई असर गर्छ। उच्च रक्तचापको कारणले मुटु रोग हुने, पक्षघात हुनेजस्ता समस्या देखिन सक्छन्। अर्को, कुरा मधेमह अलिअलि बढ्दा पनि कुनै लक्षण तथा समस्या देखिँदैन। अलिकति चनाखो भयो भने मधुमेहका केही लक्षण थाहा पाउन सकिन्छ।
मधुमेहका केही प्रमुख लक्षणहरू
-तौल घट्दै जान्छ।
-छिनछिनमा पिसाब लाग्ने हुन्छ।
-प्यास लाग्ने हुन्छ।
यस्तो तीन लक्षण देखियो भने ख्याल गर्नुपर्छ। राति सुत्दा धेरै पिसाब लाग्ने, तिर्खा लाग्ने भएको छ भने सुगर हुन सक्छ। मधुमेह र उच्च रक्तचापको प्रकोप बढेकै कारण मिर्गौलाको समस्या पनि बढेको हो।
कतिपय बच्चाहरूमा समेत मिर्गौलाको समस्या देखिन सक्छ। जस्तो पिसाबमा प्रोटिन चुहिने रोगले मिर्गौला बिग्रिन सक्छ। यो समस्या नेपाल, भारत र चीनमा धेरै छ। घाँटी दुख्ने, टन्सिल हुने समस्याको समयमै उपचार गर्न नसके त्यसले अन्तत: मिर्गौलालाई समस्या पार्न सक्छ।
खाडी देशमा गएकाहरूलाई मिर्गौला रोग लाग्नुको कारण
मिर्गौलाको समस्या सुरूमै पत्ता लगाउन सकियो भने पूर्णरूपमै निको पार्न सकिन्छ। तर मिर्गौला रोगको खराबी भनेको के हो भने हामीलाई यसले कुनै लक्षण देखाउँदैन। तपाईंले याद गर्न सक्नुभयो भने त्यसले गाह्रो पार्दैन। तर हामी गाह्रो नहुँदासम्म जँचाउन जाँदैनौं। खाडी मुलुकमा हाम्रा धेरै नेपाली काम गर्न गएका छन्। त्यहाँ जाँदा हाम्रो मौसम र त्यहाँको मौसम फरक छ। त्यहाँ गर्मी धेरै छ अनि खानाको रूटिङ पनि मिल्दैन। हामीले मासु खाए पनि हामी भेजिटेरियन जस्तै हो। किनकि हामी दाल, भात, साग धेरै खान्छौं। दैनिक मासु खाने हाम्रो बानी छैन। तर खाइन्छ। खाडी मुलुकहरूमा प्रोटिनमा आधारित खाना धेरै खाइन्छ। अनि मासु धेरै खाने चलन छ। खानपिनको बदलावले गर्दा मिर्गौला बिग्रिन सक्छ। अनि जंक फुड धेरै खाने तनाव हुने गर्दा उच्च रक्तचापको समस्या हुन्छ। जसले गर्दा मिर्गौलामा समस्या देखिन्छ।
अर्को कुरा समयमा सुत्न पाइँदैन भने परिवारबाट पनि टाढा बस्दा विभिन्न खालका तनाव हुन्छन्। जसले गर्दा मधुमेह, रक्तचाप बढाउँछ। खाडी मुलुकमा जानेहरूको अलिअलि समस्या हुँदा समेत जँचाउन नजाने रहेछन्। कुनै रोगको लक्षण देखियो भने भएको जागिर जाने हो कि भन्ने डरले यस्तो हुने रहेछ। हुन त उहाँहरूको बीमा हुन्छ तर पनि जागिर जान्छ कि भन्ने डरले रोग पाल्ने रहेछन्।
सुगर र प्रेसरका बिरामीले मिर्गौला परीक्षण किन गर्ने?
सुगर र प्रेसरको समस्या हुनेहरूले नियमित रूपमा मिर्गौला परीक्षण गर्नुपर्छ। यी रोगका बिरामीलाई सुरूआती चरणमा मिर्गौलाको समस्या देखिँदैन। सुगर लागेका बिरामीहरूको सुरू सुरूमा पिसाबबाट प्रोटिन चुहिन्छ। सुरूमा सामान्य माइक्रोस्कोपबाट देखिँदैन। तर विशेष प्रकारको माइक्रोस्कोपबाट भने देखिन्छ। विस्तारै धेरै प्रोटिन चुहिन थालेपछि मात्र पिसाबमा गाज आएको देखिन्छ।त्यसपछि खुट्टा सुन्निने, जिउ सुन्निने, खुट्टाको गोलीगाँठा सुन्निने हुन्छ। धेरै प्रोटिन चुहिएर किड्नीले काम गर्न छोड्छ। उच्च रक्तचाप देखिनसाथ किड्नीमा समस्या देखिने होइन। यसलाई नियन्त्रण गर्न सकिएन भने किड्नीमा समस्या देखिने हो।
धेरैमा के पाइएको छ भने उच्च रक्तचाप देखियो भने जिन्दगीभरी औषधी खानुपर्छ भनेर डराएर औषधी नै सुरू नगर्ने चलन छ। औषधी सुरू भएपछि त त्यो औषधीले नियन्त्रण गर्छ। नियन्त्रण भएपछि मेरो प्रेसर ठीक भयो भनेर औषधी खान छोड्दिने गरिन्छ। उच्च रक्तचाप निको भएको होइन कि नियन्त्रण मात्र भएको हो भन्ने कुरा बिर्सन हुँदैन। खानपिनले मात्र प्रेसर नियन्त्रण हुँदैन औषधी नै खानुपर्छ। प्रेसर बढ्यो भनेर घरायसी उपचार गर्न खोज्ने नुन नखाने गरिन्छ। नुन नखाएर सधैं बस्न सकिँदैन। किनकि नुन अत्यावश्यक तत्व हो। अर्को कुरा तितो चिज खाने मेथी, भिजाएर खाने, जमराको पानी खाने करेलाको रस खाने लौकाको जुस खाने गरिन्छ। ती खानाले केही हदसम्म फाइदा गर्ला तर त्यसको मात्रा कति हो भनेर कसरी थाहा पाउने? अर्को कुरा, यसलाई विज्ञानले प्रमाणित गरेको पनि होइन।
ती चिज राम्रो रहेछ भने पनि हामीलाई डोज थाहा छैन। कति मात्रामा खान पर्ने हो त्यो पनि थाहा छैन। कति पटक खान पर्ने हो त्यो समेत थाहा हुँदैन। उच्च रक्तचाप भएपछि चिकित्सकले छोड नभनेसम्म औषधी छोड्न हुँदैन।
सुगरको पनि हालत त्यस्तै हो। सुगर भएपछि जिन्दगीभरि औषधी खानुपर्छ भनेर पहिला त औषधी सुरू गर्न एकदमै डराउने गरिन्छ। चिनी नै नखाएर, खाना नखाएर बस्ने समेत चलन छ। त्यसले हाम्रो जीवनशैली केही सहज बनाउला तर हामीले खाना खानुपर्छ। खानाको नियन्त्रण एउटा उपाय हो तर यसले मात्र सुगर नियन्त्रण हुँदैन। सुगरलाई लापरबाही गर्यो भने यसले किड्नी मात्र होइन हाम्रो मुटु,आँखा सबैतिर असर गर्छ। मधुमेहलाई नियन्त्रण गरिएन भने मिर्गौला, मुटु लगायतका नसर्ने रोगहरू लाग्छन्।
कहिले कहिले मिर्गौला परीक्षण गर्ने?
मिर्गौला परीक्षण गर्नेबारे दुई भागमा विभाजन गर्न सकिन्छ। एउटा मिर्गौलाको रोग लाग्ने जोखिममा जो छन् उनीहरूले मिर्गौलाको परीक्षण गर्नुपर्छ।
दोस्रो, मिर्गौलाको कुनै समस्या देखियो भने परीक्षण गर्नुपर्छ। रक्तचापको कुनै समस्या पनि छैन, सुगर पनि छैन, तर लक्षण देखिएको छ भने परीक्षण गर्नुपर्छ।
अर्को तपाईंलाई कुनै लक्षण पनि छैन भने कस्ता व्यक्तिलाई गर्ने भन्ने छ। तपाईं कुनै पनि जोखिममा हुनुहुन्न भने ३० वर्ष नाघेपछि वर्षमा एकपटक मिर्गौला परीक्षण गर्नुपर्छ। धेरै महँगो परीक्षण गर्नु पर्दैन। तपाईंले एउटा रक्तचापको परीक्षण, अनि ब्लड, सुगर र पिसाब जँचाए हुन्छ। पिसाबबाट मिर्गौलाबारे धेरै कुरा थाहा हुन्छ। पिसाबमा प्रोटिन चुहिएको छ भने पिसाबमा राता कणहरू आएका छन् भने पनि थाहा हुन्छ।
जोखिममा परेको कसरी थाहा पाउने?
मिर्गौलाबाट प्रोटिन चुहिने रोग(नेफ्राइटिस) विभिन्न कारणले लाग्छ जसको लागि सुगर र प्रेसर कारक होइन। लामो समयसम्म नेफ्राइटिसको उपचार गरिएन भने यसले मिर्गौलालाई खराब बनाइदिन्छ। अर्को कारण वंशानुगत पनि हो। जसलाई पलिसिस्टिक किड्नी डिजिज भनिन्छ। यस्तो रोगमा साना/साना फोकाहरू देखिन्छन्। यस्ता फोका दुवै मिर्गौलामा देखिन्छ। जसको उपचार बेलैमा भएन भने मिर्गौला फेल हुन्छ। हजुरबुवा या मावलातिर समेत यो रोग छ भने २० वर्ष नाघेपछि नै मिर्गौला परीक्षण गर्नुपर्छ।
यस्ता लक्षण देखिए पनि मिर्गौला परीक्षण गर्नुपर्छ
-उच्च रक्तचाप नभए पनि जोर्नी दुख्न थाल्यो भने
- घाममा हिँड्दा गाला रातो भएमा
- रातो रातो डाबरहरू देखिएमा
- कपाल झर्न थालेमा
-महिनावरी गडबडी भइरहेमा या धेरै रक्तस्राव भएमा
- गर्भपतन भइरहेमा या गर्भ रहन समस्या भएमा मिर्गौला खराब हुन सक्ने भएकाले परीक्षण गर्नुपर्छ।
अन्य लक्षणहरू
-बिहान उठ्दा आँखाको डिलहरू सुन्निने
-साँझ परेपछि गोलीगाँठाहरू सुन्निएमा
-पिसाब गर्दा अत्यधिक फिँज आउन थाले
- पिसाब धमिलो हुन थाल्ने
-पिसाबको रङ्ग फेरिने, कोकाकला जस्तो कालो चियाजस्तो पिसाब आउन थाले
- पिसाब फेर्दा पोल्न थाल्ने
- जिरिङ जिरिङ हुने, ज्वरो आउला जस्तो हुने, कहिलेकाहीँ ज्वरो आउने
- दुवैतिरको कोखाहरू दुखेर ज्वरो आयो भने
माथिका लक्षणहरू देखिएका छन् भने पनि मिर्गौला परीक्षण गर्नुपर्छ। त्यस्तै नदुख्ने औषधी, एन्टिबायोटिक धेरै खाएको छ भने पनि मिर्गौलाको परीक्षण गर्नुपर्छ।
मिर्गौलाको उपचारमा नेपालको फड्को
१०/१५ वर्षको अवधिलाई हेर्ने हो भने हामीले मिर्गौला उपचारको क्षेत्रमा ठूलो फड्को मारेका छौं। हामीसँग विकसित देशकै सरह उपचार पद्धति र सबै सेवा छन्। यसो भन्दै गर्दा यो सेवा नेपालभरी पाउन भने गाह्रो छ। यो सेवा विशेष गरेर ठूला सहर काठमाडौं, पोखरा, चितवन लगायतका सहरमा छन्।
नेपाल सानो देश भएकाले यी ठाउँमा पुग्न कठिन छैन। पहिलाको भन्दा उपचार सहज बन्दै गएको भए पनि यसको समान पहुँच छैन। मिर्गौला रोग भन्नासाथ फेल भन्ने होइन। यो रोग निको हुन्छ। तर समयमै पत्ता लगाउन सक्नुपर्छ। सुरूमै मिर्गौला रोग पत्ता लगाए प्रत्यारोपण र डायलासिसमा पुग्न नपरोस् भन्ने हाम्रो चाहना हो। जिन्दगीभरि औषधी खानुपर्यो भने पनि कतिपय औषधीहरू निःशुल्क पाउन सकिन्छ।
डायलासिस र प्रत्यारोपण भनेको उपचार होइन
दुवै मिर्गौलाले काम गर्न छोडेपछि गरिने डायलासिस, मिर्गौला प्रत्यारोपण भनेको उपचार होइन। यो त जिन्दगी लम्ब्याउने उपाय मात्र हो। यसले मिर्गौला रोगलाई निको पार्न सक्दैन। अर्को मान्छेले दान दिएको मिर्गौलाले पूर्ण काम गर्छ भन्ने हुँदैन। किनकि यो भनेको प्रकृतिको विरूद्धमा गरेको कुरा हो। यसले जिन्दगीलाई केही लम्ब्याउन सहज बनाउने मात्र हो। डायलासिसभन्दा प्रत्यारोपणले गुणस्तरीय जीवनमा सहज बनाउँछ।
डायलासिसमा पनि विश्वमा भएको पेरिटोनियल डायलासिस र हेमो डायलासिस हो। हेमो डायलासिसमा ४ घण्टा मेसिनमा बस्नुपर्छ। हप्तामा २/३ पटक यो डायलासिस गर्नुपर्छ।
अरू देशको तुलनमा नेपालमा डायलासिसको पहुँच धेरै छ। किनकि डायलासिसमा सरकारले सुविधा दिएको छ। सरकारले सहज बनाउन सक्ने भनेको पेरिटोनियल डायलासिस हो। जुन घरमै बसेर गर्न सकिन्छ।
प्रत्यारोपण गरेपछि बिरामीलाई धेरै सहज हुन्छ। उसले काम गर्न र कमाउन सक्ने भएकाले आर्थिक भार कम हुन्छ। अहिले हाम्रो देशमा दाताको कमी छ। नजिकको नातेदारबाट मात्र लिन सक्ने प्रावधान छ। त्यसैले मृत्युपर्यन्त प्राप्त हुने जुन अंगहरू छन् त्यसलाई सहज बनाउन जरूरी छ। देशभरि यसको विकास र विस्तार गर्न जरूरी छ। त्यसले गर्दा डायलासिसको लगानी कम हुन्छ।
हामीले स्याटलाइट डायलासिस सेवालाई समेत विस्तार गर्न जरूरी छ। मुख्य अस्पतालको मातहतमा स्याटलाइट डायलासिस केन्द्र सञ्चालन गर्न सकिन्छ। त्यसको लागि विज्ञ नर्स भए पुग्छ। केही समस्या भएमा विज्ञ चिकित्सकले सहज बनाइदिन सक्छ। म अस्ट्रेलिया भएको बेलामा एकैचोटि धेरै स्याटलाइट सेन्टरसँग समन्वय गर्न सक्थेँ।
अर्को पेरिटोनियल डायलासिस जुन घरमै बसेर गर्न सकिन्छ। त्यो गर्यो भने बिरामीलाई एकदमै धेरै सुविधा हुन्छ। बिरामीलाई धेरै टाढासम्म हिँड्न पर्दैन। आफ्नो काम गर्न सहज हुन्छ। यसका लागि विशेष प्रकारको फ्लुड चाहिन्छ। यसको उत्पादन सरकारले गर्न सक्यो भने धेरै सहज हुन्छ। त्यसैले यसबारे धेरै जनचेतना बढाउन जरूरत देखिन्छ। हाम्रो देशमा दुर्गम क्षेत्र धेरै छ। तथापि यी रोगको उपचारभन्दा रोकथामका लागि विभिन्न कार्यक्रम चलाउन जरूरी छ।
(त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमकी डिन समेत रहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)