मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाह पञ्चमीका दिन घरघरमा दीपोत्सव गर्न आह्वान गरेका छन्। महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न मंसिर २१ गते दीपोत्सव गर्न उनले जनकपुरधामवासीलाई आह्वान गरेका हुन्।
बिहीबार भिडिओ सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले ११ वा २१ वटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा बालेर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका हुन्।
यो अवसरमा देश तथा विदेशका विभिन्न ठाउँबाट जनकपुरधाम आएका भक्तजनलाई आफ्नै घरमा भए पनि वासको व्यवस्थापनमा सघाउन पनि उनले आग्रह गरेका छन्।
सन्देशमा उनले भनेका छन्, 'घरपरिवारका सदस्यले उपयोग गर्नेबाहेकका अतिरिक्त कोठामा बाहिरबाट आएका श्रद्धालुहरूलाई वासको व्यवस्था गरिदिन म अनुरोध गर्छु।'
मुख्यमन्त्री सिंहले भक्तजनलाई होटल तथा धर्मशाला आदिमा वास व्यवस्थापन नभए, प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले सहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाएका छन्।
उनले प्रदेश सरकारले जनकपुरधामका रेलवे स्टेसन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा बनाएका अस्थायी आवासमा बस्न सुझाएका हुन्।