हाप्सा नेपालले 'नेपालमा समुदायस्तरको सिपिआरको सिकाइ, रणनीति, र भविष्य' विषयमा प्रमुख सरोकारवाला र नेतृत्वकर्ताहरूको बीचमा छलफल गरेको छ।
कार्यक्रममा नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निक साइमन इन्स्टिच्युट, नेपाल रेडक्रस, विश्व स्वास्थ्य संगठन, गुड नेबर्स नेपाल, नेपाल डेभलपमेन्ट सोसाइटी, नेपाल हेल्थ कोर्प्स, आस्क फाउन्डेसन, न्याय हेल्थ नेपाल, भास्कर तेजश्री मेमोरियल फाउन्डेसन, निरी, सेन्ट जोन एसोसिएसन, साथै विभिन्न शैक्षिक संस्था, विश्वविद्यालय र अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बुधबार साँझ भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भिडिओ सन्देशमार्फत् सामुदायिक सिपिआरको महत्त्वलाई जोड दिँदै देशभरि यस्तो कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए।
हाप्सा नेपालका संस्थापक तथा प्रमुख रणनीतिकार र ब्राउन विश्वविद्यालयका सहायक प्राध्यापक डा. रामु खरेलले जीवन रक्षाका लागि सशक्त बनाउन सिपिआर तालिमको महत्त्व र सबै सरोकारवालाको सामूहिक जिम्मेवारीलाई जोड दिए।
हाप्साका मेडिकल निर्देशक डा. कमल थापाले कार्यक्रमका क्रममा दुई जना हृदयघातबाट बाँच्न सफल व्यक्तिहरूलाई प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सिपिआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो। कार्यक्रममा नेपालको पहिलो सिपिआर गीतको सार्वजनिक समेत गरिएको थियो।