बाँकेमा चोरी सिकारी गरी दुर्लभ वन्यजन्तु नीलगाई मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका – ६ का ५२ वर्षीय सुरेशशमसेर राणा र ७७ वर्षीय लालबहादुर थारु छन्। राणा २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सोही वडाको वडाध्यक्षका प्रत्यासी थिए।
थारु पनि कांग्रेसका स्थानीय नेता हुन्। उनीहरू तीन दिनअघि पक्राउ परेका हुन्।
मंसिर १६ गते चोरी सिकारी गरी नीलगाई मारेको सूचना महिमानपुर सब डिभिजन कार्यालयका वन अधिकृत रामगणेश साहले पाएका थिए।
सुचना पाएपछि सुरक्षाकर्मीसहितको टोली खोजीको लागि खटिएको थियो । वन हुँदै खोजी गर्दै वनका कर्मचारीसहितको टोली राप्तीसोनारी गाउँपालिका– ६ स्थित गाउँमा रातको १२:५० बजेतिर पुग्दा लालबहादुर थारुको घरको आँगनमा गाँइगुँइ आवाज सुनिएको थियो।
आवाज सुनेको घरतर्फ वनका अधिकारी र सुरक्षाकर्मी पुग्दा मानिसहरु भागेका थिए। त्यतिबेला राणालाई भने पक्राउ गरिएको वन अधिकृत साहले बताए। थारुको घरको आँगनबाट गाईको भुँडी र छाला मात्रै बरामद भएको थियो ।
घरमा महिला र बालबालिका सुतिरहेकाले टोलीले रातमा घरको खानतलासी लिएन, घरलाई घेरा हालेर बसिरहे।
बिहान भएपछि उनीहरुले घर खानतलासी सुरु गरेका थिए। खान तलासी गर्दा नील गाईको टाउको र खुरसहित ३९ किलो मासु बरामद भएको वन अधिकृत साहले सेतोपाटीलाई बताए । मासु बरामद भएपछि घर मुली थारुलाई पनि पक्राउ गरिएको साहले बताए ।
पक्राउ परेकाहरु माथि म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ। नील गाईको चोरी सिकारी कार्यमा दुई जना मात्रै पक्राउ परेपनि अरुपनि संलग्न रहेको वन अधिकारीहरु बताउँछन्।
‘थप बयान लिने क्रम जारी छ ,’ उनले भने ‘ नील गाईको चोरी सिकारीमा अरुको पनि संलग्नता रहेको हाम्रो आशंका छ।’
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक टेपेन्द्र बुढाले वन कार्यालयलाई प्राप्त सुराकका आधारमा प्रहरीलाई सहयोगका लागि बोलाइएपछि पुगेर रातभर घर घेरा हालेर बिहान मात्रै खान तलासी भएको बताए ।
स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोलीको रोहबरमा १७ गते बिहान बरामद भएको नीलगाईको टाउकोसहितको मासु खाडल खनेर गाडिएको थियो।