नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडिबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिलले सप्ताहव्यापी फोटो प्रदर्शनी सुरू भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबी नेपालका निर्देशक आर्नोड कोस्वा, नर्वेली राजदूतावासकी मिसन उपप्रमुख क्रिस्टिन हेग स्टोरहोल्टले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरेका छन्।
फोटोपत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म चल्ने छ। फोटो प्रदर्शनीमा नेपाल सरकार र एडिबीबीच ५० वर्षमा भएको सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको छ। फोटो प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र 'बियोन्ड द मिटर' गरी ४ भागमा विभाजन गरिएको छ।
उद्घाटनमा बोल्दै ऊर्जा राज्यमन्त्री तामाङले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याएकोमा एडिबीलाई धन्यवाद दिए।
'धेरै सकारात्मक कामहरू भर्खरै सम्पन्न भएका छन्,' उनले भने, 'नेपालको ऊर्जा क्षेत्रको विकासमा एडिबीले पुर्याएको सहयोगमा धन्यवाद दिन चाहन्छु।'
त्यस्तै, एडिबी नेपालका निर्देशक कोस्वाले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा निरन्तर साथ रहने बताए।
न्यून विद्युतीकरण भएको नेपाल अहिले ऊर्जा निर्यात गर्ने मुलुकका रूपमा समेत पुगेको उनको भनाइ छ।
त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एडिबीको सहयोगमा नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाहरू निर्माण भइरहेको बताए।
तस्बिरहरूः