नेकपा बहुमत पार्टीका कार्यकर्ता बताउने समुहले शनिबार साँझ कर्ण शाक्यको पार्क भिलेज वाटरफ्रण्ट रिसोर्ट तोडफोड गरेका छन्।
फेवाताल किनारमा रहेको उक्त रिसोर्टले तालको मापदण्ड मिचेको र सार्वजनिक पर्ति जग्गा व्यक्तिको नाममा सारेर रिसोर्ट बनाएको आरोपमा उनीहरुले उक्त आक्रमण गरेका हुन्। उनीहरुले रिसोर्टको बार भत्काउनुका साथै एउटा टेबल फुटाएको रिसोर्ट व्यवस्थापनले जनाएको छ।
रिसोर्टका व्यवस्थापक अमृत जिसीले अचानक केही व्यक्तिहरुको समुह रिसोर्टमा प्रवेश गरेर तोडफोड गरेर भागेको बताए।
‘केही व्यक्तिहरु रिसोर्टमा आएर एउटा टेबल फुटाएका छन्। बार भत्काएका छन्,’ उनले भने, ‘हामीले जानकारी पाएर जाँदा उनीहरु भागिसकेका थिए।’
रिसोर्टमा आक्रमण गरेर उनीहरु भागिसकेपछि गस्तीमा भएका प्रहरी घटनास्थल पुगेका थिए। घटनाका बारेमा प्रहरीलाई औपचारिक जानकारी गराउने तयारी गरेको व्यवस्थापक जिसीले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पनि घटनाका बारेमा रिसोर्टले औपचारिक जानकारी नदिएको बताए।
‘हामीलाई सम्बन्धित पक्षले औपचारिक जानकारी दिएका छैनन्,’ उनले भने, ‘घटनाका विषयमा हामीले आप्mनो तर्फबाट अनुसन्धान अघि बढाएका छौं।'
रिसोर्टमा आक्रमण गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।
‘फेवाताल संरक्षणका लागि जनसंघर्ष’ भन्दै नेकपा बहुमत पार्टीका कार्यकर्ताले उक्त तोडफोड गरेका हुन्। रिसोर्टका संचालक पर्यटन व्यवसायी कर्ण शाक्यले ‘संरक्षणविद’को खोल ओडेर फेवाताल अतिक्रमण गरेकाले ‘मुखुण्डो’ उतारेको उक्त पार्टीका कस्की इन्चार्ज सुजन आयामले बताए।
‘हामीले यो कारबाही सांकेतिक रुपमा गरेका हौं। फेवाताल मिच्न योजनावद्ध शुरुवात कर्ण शाक्यले नै गरेको हो,’ उनले भने।
फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले नगरेकाले आफुहरुले उक्त कार्य गरेको उनले बताए। सरकारका मान्छे र प्रशासनिक अधिकारीहरुलाई पैसा दिएर शाक्यले मापदण्ड लागु गर्न नदिएको उनले आरोप लगाए।
‘उहाँले मेयर, सिडिओ, मुख्यमन्त्री सबैलाई प्रयोग गर्नुभएको छ। उहाँकै कारण यो सब रोकिएको हो। यसका तथ्य हामीसँग छ,’ उनले भने, ‘उहाँले सबैलाई पैसा दिएर खरिद गर्नुभएको छ।’
आफूहरु भने कुनै आर्थिक सहयोगको प्रस्ताव शाक्यकहाँ नलगेको इन्चार्ज सुजनले बताए। यस्ता प्रस्ताव लैजान अरु पार्टी र तिनका नेता रहेको उनको आरोप छ।
‘हामी कहाँ आर्थिक सहयोग चाहियो भनेर प्रस्ताव गर्छौ। प्रस्ताव गर्ने भए प्रचण्डका पार्टीमा हुन्थेम। विप्लवको पार्टीमा हुन्थेम। कांग्रेस र एमालेमा हुन्थेम। हामी त्यस्तो नगर्ने भएकाले यो पार्टीमा भएका हौं।’
उनको पार्टी नेकपा बहुमत विप्लव नेतृत्वको नेकपाबाट फुटेर बनेको हो। उक्त पार्टीका नेता धर्मेन्द्र वास्तोलाले विप्लवसँग पार्टी फुटाएर नेकपा बहुमत गठन गरेका थिए।
फेवातालको मापदण्ड भित्रका संरचना सरकारले नभत्काए आफूहरुले भत्काउने पनि उनले चेतावनी दिएका छन्।
‘सरकारले नभएकै कारण हामीले भत्काउन बाध्य भएका हौं, नभत्काए अरु संरचना पनि भत्काउन जान्छौं,’ उनले भने।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम गरेर मापदण्ड भित्रका संरचना भत्काउन आदेश दिएको थियो। शाक्यले फेवातालको मापदण्ड मिचेर सार्वजनिक जग्गामा रिसोर्ट बनाएको भन्दै परेको रिटमा अदालतले रिसोर्ट भत्काउन आदेश दिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले २०८० साउन ४ गते वाटरफ्रण्ट रिसोर्ट सार्वजनिक पर्ति जग्गामा बनेको र तालको मापदण्ड पनि मिचेकाले भत्काउन आदेश दिएको थियो।
अदालतले दिएको आदेश कार्यान्वयन गर्ने दायित्व सरकारको भएकाले कुनै पनि व्यक्ति र समुहले व्यवसायिक प्रतिष्ठानमाथि आक्रमण गर्नु गलत भएको व्यवसायीहरुले बताएका छन्। कानुन हातमा लिएर आक्रमणमा उत्रनेलाई सरकारले कारबाही गर्नुपर्ने उनीहरुको माग छ।
होटल एसोसिएसन अफ नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त घटना गैरकानुनी भन्दै आपत्ति जनाएका छन्। उनले कोही पनि व्यवसायिक प्रतिष्ठानमाथि आक्रमण हुनु दुखद भएको भन्दै कारबाही गर्न माग गरे।
‘वाटरफ्रण्ट रिसोर्टमाथि एउटा झुण्डले गरेको आक्रमण दुखद छ। यस्तो गर्न पाइदैन,’ उनले भने, ‘अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व सरकारको हो। कुनै पनि समुहले व्यवसायिक प्रतिष्ठानमाथि आक्रमण गर्न पाइदैन। यसको खोजविन गरेर कारबाही गर्नुपर्छ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पनि वाटरफ्रण्ट रिसोर्टमा गएर आक्रमण गर्नु गलत भएको बताए। व्यवसायीलाई हतोत्साही गर्न उक्त घटना भएको भन्दै उनले कसैले पनि कानुन हातमा लिएर हिड्न नपाउने बताए।
‘वाटरफ्रण्ट रिसोर्टमा भएको आक्रमण कानुन हातमा लिएर भएको छ। यसको म घोर भर्त्सना गर्छु,’ उनले भने, ‘सरकारले गर्नुपर्ने काम कोही व्यक्तिले गर्छु भन्दै हिड्न पाउँदैन।’