भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यापारीलाई धम्की दिने व्यक्तिले पाँच लाख रुपैयाँ लिएको देखिएको प्रमाण प्रहरीले फेला पारेको छ।
मेडिकल दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँलले नेपाली व्यापारीहरूलाई धम्की दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई मंसिर १३ गते पक्राउ गरेको थियो।
पाँचथरका उनलाई सिआइबीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रसाईंकै नामले पाँच लाख रुपैयाँ लिएको देखिएको हो।
सिआइबी प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार उक्त प्रमाण ह्वाट्सएपमा देखिएको हो। तर उक्त रकम प्रसाईंले नै पठाएको हो वा होइन भनेर पुष्टि गर्ने काम भइरहेको उनको भनाइ छ।
‘ह्वाट्सएप हेर्दा पाँच लाख रुपैयाँ गएको देखिएको छ। प्रसाईंको नामबाट कसैले पठाइदिएको भनेर भनेका छन्। हामी हेर्दैछौं,’ एसपी बोगटीले भने, ‘उनले पनि पाँच लाख रकम पठाएको भनेका छन्, कहाँबाट आएको भनेर हेरिरहेका छौं।’
फुयाँलको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान पनि सुरू हुने चरणमा छ।
उनले भारतका विभिन्न स्थानमा बसेर व्यवसायीहरूलाई फोन गरेर दुर्गा प्रसाईंसँग तुरून्त माफी माग्नु अन्यथा ज्यानसमेत लिने भनेर धम्क्याएका थिए।
चार जना व्यवसायीहरूले प्रहरीमा उजुरी दिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान अघि बढाएको छ। यता प्रसाई पनि साइबर ब्युरोको हिरासतमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको दाबी गर्दै अभिव्यक्ति र विभिन्न कागजातहरू प्रसारण गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको हो।