कुनै पनि कारणले दिमागमा रगत जम्नु ब्रेन ह्यामरेज हो। दुर्घटनाको कारणले चोटपटक लागेर ब्रेन ह्यामरेज धेरै हुन्छ। ब्रेन ह्यामरेजको ८० प्रतिशत कारण सडक दुर्घटना हो। २० प्रतिशत भने बिना चोटपटक पनि हुन सक्छ। बिना चोटपटक हुने ब्रेन ह्यामरेज प्राइमरी र सेकेण्डरी गरी दुई किसिमका ब्रेन ह्यामरेज हुन्छन्।
दिमागको संरचनमा कुनै गडबडी भएर हुने ब्रेन ह्यामरेज प्राइमरी हो भने दिमागमा हुने गुजुल्टा, ट्युमर, फिस्टुला लगायतका कारणले हुने ह्यामरेज सेकेण्डरी ब्रेन ह्यामरेज हो।
दुर्घटना बाहेक अन्य कारणले हुने ब्रेन ह्यामरेजका केही लक्षणहरू देखिन्छन्।
-अर्ध चेत हुने
-चेतनको तह एकदमै कम हुने
-सन्तुलनमा असर पर्ने हुन्छ।
-श्वासप्रश्वास र मुटुमा असर गर्ने हुन्छ।
-हातखुट्टा नचल्ने
-आँखामा समस्या देखिन्छ
-बोल्न गाह्रो हुन्छ
-अनुहारको एकातिरको भाग तल झर्ने पनि हुन्छ।
उच्च रक्तचाप, मधुमेहको औषधी खाइरहेका बिरामीलाई ब्रेन ह्यामरेज हुन्छ। सेकेण्डरी ह्यामरेज भनेको दिमागको बनावटमा भएको असरहरूले गर्दा हुन्छ। दिमागमा गुजुल्टा हुने रगतको बेलुन हुने लगायतले गर्दा सेकेण्डरी ब्रेन ह्यामरेज हुन्छ।
ब्रेन ह्यामरेजका लक्षण र यसको उपचारसँग 'बी फास्ट' (बी,इ,एफ,ए,एस,टी) महत्वपूर्ण हुन्छ।
-'बी फर ब्यालेन्स' अर्थात् शरीरको सन्तुलनमा गडबडी हुने
-'इ' भनेको 'आइज' अर्थात आँखामा असर देखिनु, आँखा लरबराउने,आँखाले दुइटा वस्तु देख्ने हुनु
- 'एफ' भनेको 'फेस' एकातिरको अनुहार झर्नु अनि बांगिनु
- 'ए' भनेको 'आम्स' अर्थात हात र खुट्टा लुलो हुनु
-'एस' भन्नाले 'स्पिच' (बोली) अर्थात बोलीमा विभिन्न खालका समस्या देखिन्छन्। जस्तो बोल्न गाह्रो हुनु, बोल्न नसक्नु, बोली लरबराउने हुन्छ।
माथिका समस्याहरू देखिए भने 'टी फर टाइम' लाई ध्यान दिनुपर्छ। समयमा अस्पताल (स्ट्रोक सेन्टर) पुग्नु महत्वपूर्ण हुन्छ। अर्थात् यस्ता लक्षण देखियो भने जतिसक्दो चाँडो अस्पताल जानुपर्छ।
ब्रेन ह्यामरेजको उपचार
न्युरो इन्टरभेन्सन पद्धतिबाट टाउको नखोलिकन हात र खुट्टाको नशाबाट कपालको रौं जत्रो तार भित्र छिराएर अपरेसन गरिन्छ। यदि हातखुट्टाबाट सम्भव भएन भने घाँटीबाट र त्यो पनि सम्भव भएन भने जुनसुकै नशाबाट तारलाई भित्र छिराउन सकिन्छ। यो प्रविधि नेपालमा भित्रिएको धेरै भएको छैन। २/३ वर्षअगाडि मात्रै यो प्रविधि नेपाल भित्रिएको हो। अझै पनि यो प्रविधिबारे मानिसहरूलाई जानकारी भइसकेको छैन। यो प्रविधिबाट टाउको नखोलिकन अपरेसन गर्न सकिन्छ। जस्तो: दिमागको नशामा बेलुन भएको छ भने यो प्रविधिको सहयोगबाट त्यहाँ क्वाइल हालेर टाल्दिन्छौं। अथवा कहिलेकाहीँ विशेष खालको स्टेन्ट हाल्नुपर्ने हुन्छ। जस्तो: गुजुल्टाहरू छन् भने औषधि राखेर त्यसलाई सुकाइदिने अनि नशालाई बन्द गर्दिने गरिन्छ। नेपालमा पूर्ण रूपमा यो सेवा भएको सरकारी अस्पताल पाटन अस्पताल मात्र हो। पाटन अस्पतालमा तीन चार महिनादेखि दिमागमा रगत जमेका बिरामीहरूको उपचार भइरहेको छ।
कस्ता व्यक्तिलाई ब्रेन ह्यामरेजको खतरा?
दिमागमा रगत जम्ने विभिन्न कारण छन्। अफ्रिकनहरूमा, पुरुषमा यो समस्या धेरै हुन्छ। मुटुको बाथ रोग भएका बिरामीलाई पनि यस्तो रोग हुनसक्छ। लागुपदर्थको सेवन, चुरोट, रक्सी खानेलाई पनि यसको खतरा हुन्छ। उच्च रक्तचाप र मधुमेह भएकाहरूलाई समेत हुनसक्छ। महिलाको तुलनामा पुरुषले रक्सी, चुरोट धेरै खाने भएकाले उनीहरूलाई ब्रेन ह्यामरेजको खतरा धेरै हुन्छ। अर्को कुरा वंशानुगत रूपमै पुरुषलाई यसको जोखिम रहन्छ। माथि भनिएका कुनै पनि लक्षण देखिएमा अस्पताल गएर विभिन्न खालका परीक्षण गरेपछि ब्रेन ह्यामरेज भए/नभएको थाहा पाउन सकिन्छ।जनमानसमा बढ्दो उमेरसँगै यो रोग हुन्छ भन्ने बुझाइ छ। तर यो गलत हो। यो समस्या जुनसुकै उमेर समूहका व्यक्तिलाई हुनसक्छ। पहिला/पहिला पनि ब्रेन ह्यामरेज हुन्थ्यो तर यसबारे जानकारी नभएकाले बाहिर नआएको मात्रै हो।
उपचारलाई कसरी सहज बनाउने?
ब्रेन ह्यामरेजका बिरामीको उपचार सहज बनाउन दुई उपाय छन्। एउटा यसको उपचारको लागि प्रविधि चाहियो भने अर्को विशेषज्ञ चाहिन्छ। अहिले सरकारी अस्पतालमा इन्टरभेन्सन न्युरो सर्जनको दरबन्दी समेत छैन। यसको दरबन्दी सरकारी अस्पतालमा हुन जरूरी छ। अनि यसको उपचारमा सरकारले सहुलियत दिएमा जनताले सहज ढंगले उपचार पाउँछन्।
मैले हेरेको एक जना बिरामी छन्, उनको दिमागमा ट्युमर छ। रगत धेरै आउने खालको ट्युमर भएकाले न्युरो इन्टरभेन्सन गरेर रगतको नशालाई बन्द गर्न सके अपरेसन गर्न सजिलो हुन्छ। मैले एन्जियोग्राफी गरेर हेर्दा भास्कुलर ट्युमर छ। तर बिरामीसँग उपचार खर्च नभएका कारण गाह्रो भएको छ। म बाँच्न चाहन्छु भन्ने बिरामीको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने मेरो चाहना हो। किनकि बाँच्न पाउनु प्रत्येक नागरिकको हक छ।
(न्युरो इन्टरभेन्सनमा डिएम गरेका डा. अरुण पौडेल पाटन अस्पताल र नर्भिक अस्पतालमा कार्यरत छन्।)