रूकुम पश्चिममा चक्कु प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्।
आठबिसकोट नगरपालिका–१० घारीखोलामा ५० वर्षीय दर्वे खत्रीको आइतरबार बेलुकी घरमै चक्कु प्रहार गरी २० वर्षीय छोरा वीरबहादुर खत्रीले हत्या गरेका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार छोराले पेटमा चक्कु प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको थियो।
‘पैसा माग्दा नदिएपछि छोराले बुवाको पेटमा चक्कु प्रहार गरेको भन्ने छ,’ डिएसपी पोखरेलले भने, ‘वीरबहादुर लागुऔषध सेवनकर्ता रहेको भन्ने खुलेको छ।’
हत्या आरोपी छोरा फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए। हत्या आरोपी वीर बहादुरको खोजीको लागि प्रहरी परिचालन गरिएको छ।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।