दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
सल्यानस्थित बगचौर नगरपालिका– ३ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार सोमबार बिहान ४ बजेतिर लमहीबाट तुलसीपुर आउँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातोडाँडामा प्रहरीले राखेको ब्यारिकेडमा ठोक्किएको थियो।
लिलाराम मोटरसाइकलको पछाडि सवार थिए। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएपनि चिकित्सकले लगत्तै मृत घोषणा गरेको डिएसपी थापाले जानकारी दिए।
मोटरसाइकल चालक तुलसीपुर – ५ न्यूरोडका रोशन विकको अवस्था भने सामान्य छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।