शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाइले उभिएर आन्दोलन थालेका छन्।
पोखराको मानवअधिकार चोकमा आइतबार दिनभर उभिएर उनले सरकारसमक्ष १५ बुँदे माग पेश गरेको बताए। उक्त मागबारे सुनुवाई नभए काठमाडौंमा अनिश्चितकालसम्म उभिने उनले बताएका छन्।
‘हरेक प्रदेशको राजधानीमा २/२ दिन उभिएर माग पेश गर्ने कार्यक्रम छ, आज पोखराबाट उभिने यात्रा सुरू भयो,’ उनले भने, ‘मागको सुनुवाइ नभए काठमाडौंमा अनिश्चितकालसम्म उभिने प्रण गरेको छु।’
आफुले पेश गरेको मागपत्र निर्धारण गर्दा शिक्षक लगायत सरोकारवालासँग सुझाव लिएको उनले बताए। शिक्षा क्षेत्रको सुधारका लागि आफुले एक्लै उभिएर आन्दोलन गरेको भन्दै उनले जायज मागका लागि बाटो छेकेर हुलहुल्लज गर्न आवश्यक नरहेको बताए।
उनले पेश गरेको मागहरूमा नयाँ शिक्षा ऐन जारी हुनुपर्ने, इसिडी शिक्षालाई विद्यालय शिक्षामा मान्यता दिनुपर्ने, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने, पहाडका ग्रामिण क्षेत्रमा आवासीय विद्यालय संचालन गर्नुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने, प्रध्यानाध्यापकको भत्ता वृद्धि हुनुपर्ने लगायत छन्।
यस्तै, विद्यार्थीलाई दिइँदै आएको ४ सय रुपैयाँ छात्रवृत्ति रकम वृद्धि गरी ५ हजार पुर्याउनुपर्ने, गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने, विद्यालयको वार्षिक मसलन्द खर्च कम्तिमा १ लाख हुनुपर्ने, विद्यालयको खानेपानी र विजुलीको महशुल छुट दिनुपर्ने मागपत्रमा उल्लेख छ।
इसिडीका बालबालिकालाई १० किलो भन्दा धेरै तौलको किताब कापीको झोला बोकाएको भन्दै उनले किताबको भारी बोकाउन नहुने पनि माग राखेका छन्।
कक्षा ८ को रजिष्ट्रेशन शुल्क र सर्टिफिकेट शुल्क खारेज हुनुपर्ने, विद्यालयको आवश्यकता अनुसार दरबन्दी मिलान गर्नुपर्ने, कक्षा ११ र १२ का विषयगत शिक्षकको सेवा सुविधा सुनिश्चित हुनुपर्ने, शिक्षकको मर्यादाक्रम निर्धारण हुनुपर्ने, भ्रमण भत्ता र भ्रमण विदाका लागि बजेटको व्यवस्था हुनुपर्ने र सार्वजनिक शिक्षा सुधार गर्न अभिभावक जागरण अभियान चलाउनुपर्ने पनि चापागाइले माग पत्रमा समेटेका छन्।