दाङ दंगीशरण गाउँपालिका–६ का प्राविधिक रामबहादुर केसी भदौ १६ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केसीको शैक्षिक प्रमाणपत्र पेस गर्न भन्दै साउन ३० गते दंगीशरण गाउँपालिकाको प्रशासन शाखालाई पत्राचार गरेको थियो।
अख्तियारबाट आएको पत्र पालिकाको प्रशासन शाखाले भौतिक पूर्वाधार तर्फका प्राविधिक केसीलाई जस्ताको तस्तै पठाएको थियो। उक्त पत्रमा १५ दिनभित्रै आफ्नो पद अनुसारको शैक्षिक प्रमाण पत्रसहित जबाफ दिन ताकेता गरिएको थियो।
शान्तिनगर गाउँपालिका–३ घर भएका केसी अख्तियारलाई जबाफ पठाउनुको साटो भदौ १६ गतेपछि कार्यालय आउनै छोडे।
गाउँपालिका प्रशासन शाखा प्रमुख यादवबहादुर डाँगीले पनि अख्तियारले पत्राचार गरेपछि प्राविधिक रामबहादुर केसी कार्यालय आउन छोडेको जानकारी दिए।
प्रतिक्षा गर्दा पनि लामो समय कार्यालय अनुपस्थित भएपछि वडा कार्यालयले गाउँपालिका प्रशासन शाखालाई कात्तिक ७ गते पत्राचार गर्दै वडाका प्राविधिक रामबहादुर केसी भदौ १६ गतेदेखि कार्यालयमा उपस्थित नभएको भन्ने जानकारी दिएको थियो।
वडाको पत्रको आधारमा गाउँपालिकाको यसअघिको गाउँसभाले सेवाबाट निष्कासित गर्ने निर्णय पारित गरेको थियो।
रामबहादुर केसी तत्कालीन जिल्ला विकास समितिमार्फत् करार सेवामा कार्यरत कर्मचारी थिए। उनी यसअघि साबिक हेँकुली गाविस छँदा पनि प्राविधिकका रूपमा कार्यरत रहँदै आएका थिए। पछिल्लो समय उनले मासिक ३० हजारसम्म राज्यबाट तलब सुविधा बुझ्दै आएका थिए। साउनपछि भने उनले तलब बुझेका थिएनन्।
प्राविधिक फाँटको कर्मचारी हुन कम्तीमा पनि १५ महिने सवओभरसियर उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र चाहिन्छ भने ओभरसियरका लागि ३ वर्षे सोही कोर्ष उत्तीर्ण गरेको हुनुपर्छ।
स्रोतका अनुसार भदौ १६ देखि सम्पर्कविहीन रहेका रामबहादुरले आइएसम्मको अध्ययन गरेको भए पनि उनले जुन पदमा जागिर खाइरहेका थिए त्यो सम्बन्धी अध्ययन नै गरेका थिएनन्।
नेकपा (एमाले) निकट मानिने उनी पछि राजनीतिक पहुँच र भनसुनको आधारमा तत्कालीन जिविस छँदै प्राविधिकको करार पदमा काम गर्न थालेको स्रोतले बतायो।
‘उहाँमा प्राविधिक ज्ञान, सीप वा दक्षता नै थिएन,’ एक जना कर्मचारीले भने, ‘उहाँ भौतिक पूर्वाधार तर्फको प्राविधिक भनिए पनि जहिल्यै अरूलाई प्रयोग मात्रै गर्दै आउनु भएको साँचो हो।’