एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (ए.एस.एस.एन.) मा नयाँ कार्यसमिति गठन भएको छ।
एसोसिएसनको हालै सम्पन्न दशौं राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभापछि भएको अनलाइन भोटिङमार्फत् निर्वाचित ९ जना सदस्यहरू सहितको नयाँ कार्यसमिति गठन भएको हो।
कार्यसमितिमा प्रा.डा. दीपक श्रेष्ठ अध्यक्ष, प्रा.डा. सुरज बज्राचार्य उपाध्यक्ष, प्रा.डा. गौरवराज ढकाल महासचिव, डा. प्रेम शाही कोषाध्यक्ष, डा.दीपक काउचा सहसचिव निर्वाचित भएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यहरूमा डा. सुवास झा, डा. सविक कायस्थ, डा. विकास पराजुली र डा. आयुष श्रेष्ठ निर्वाचित भएका हुन्।
संसारभरबाट १५० जना स्पाइन सर्जन सहभागी रहेको दुई दिने सम्मेलनमा पहिलो दिन मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा इण्डोस्कोपिक स्पाइन सर्जरी विषयमा एक दिवसीय ह्याण्ड्स अन कार्यशाला समेत आयोजना गरिएको थियो। दोस्रो दिन स्पाइन सर्जरीका विभिन्न शीर्षकहरूमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।
काठमाडौंको बूढानीलकण्ठस्थित द पार्क भिलेज होटलमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभामा मुख्य वक्ताका रूपमा अमेरिकाको कोलोम्बिया युनिभर्सिटीका विश्वविख्यात स्पाइन सर्जन प्रा.डा. ड्यानियल रिउले गर्धनको समस्याका उपचारका विविध आयामहरूबारे चर्चा गरेका थिए।
एसोसिएसन्स अफ स्पाइन सर्जन्स अफ नेपाल (मेरूदण्ड रोग विशेषज्ञ) स्पाइन सर्जनहरूको मुख्य संगठन हो, जसले मेरूदण्ड रोग सम्बन्धी तालिम, गोष्ठी, सचेतना अभिवृद्धि गर्ने लगायतमा कार्य गर्दै आएको छ।