मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
भक्तपुरस्थित निवासबाटै प्रसाईं पक्राउ परेका हुन्।
यसअघि असोज ६ गते पक्राउ परेका प्रसाईं जिल्ला अदालत काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि असोज १५ गते छुटेका थिए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट 'प्रमाण' प्रसाईंले सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार उनकै निवासबाट पक्राउ गरेको हो।
सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार जिल्ला अदालत काठमाडौंबाट मंगलबार बिहान पक्राउ पुर्जी लिएर पक्राउ गरेको हो।
प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।
उक्त दफामा विद्युतीय स्वरूप गैरकानुनी कुरा प्रकाशन गर्नेसम्बन्धी प्रावधान उल्लेख छ। उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने दफामा उल्लेख छ।
‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ।
सिआइबीका प्रमुख एआइजी दीपक थापाका अनुसार उनीमाथि यही कसुर अनुसार सुरूमा अनुसन्धान हुनेछ।
‘अहिलेलाई हामीले साइबर अपराधमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएका हौं, अब अनुसन्धान गर्दा प्रमाण के-के फेला पर्छन्, कुन-कुन कानुन आकर्षित हुन्छन् त्यस अनुसार अगाडि बढ्छौं,’ उनले भने।
यसअघि पनि प्रसाईंविरूद्ध सोही दफाअनुसार दुई जनाले साइबर ब्युरोमा जाहेरी दिएका थिए। यसपालि भने सिआइबीले प्रहरी प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउन लागेको एआइजी थापाले बताए।
त्यतिबेला प्रसाईं असोज ६ गते पक्राउ परेका थिए। विभिन्न व्यक्तिहरूलाई आरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए। साइबर ब्युरोको टोलीले उनको घरमै पुगेर पक्राउ गरेको थियो।
उनी ९ दिन हिरासतमा बसेर धरौटीमा छुटेका थिए। जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई दुई वटा कसुरमा ५०-५० हजार गरी एक लाख धरौटीमा बुझाएर छुटेका थिए।उक्त मुद्दा अझै पनि किनारा लागिसकेको भने छैन।
त्यही कसुरमा फेरि पक्राउ परेका प्रसाईंमाथि लागेको पहिलो आरोपमा दोषी ठहरिएर सजाय भएको र अर्को पटक पनि त्यही कसुरमा दोषी भए डेढी सजाय हुने उल्लेख छ।
‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुर बापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।
डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप गर्नु हो। अर्थात पाँच वर्ष कैद भएमा डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष सजाय हुनसक्छ।
एआइजी दीपक थापाले यस कसुरमा फर्जी कागजातहरू समेत देखाइएकाले लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान हुन सक्ने बताए।
‘कीर्तेसम्बन्धी आकर्षित हुनसक्छ, त्यसमा अरू पनि संलग्न हुनसक्छन्। गिरोह नै प्रयोग भएको रहेछ भने त फेरि अरू कसुर पनि आकर्षित हुनसक्छ,’ उनले भने।
यो पनि:
दुर्गा प्रसाईं पक्राउ
प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप
-ink-1732005944.jpeg)
-ink-1732005944.jpeg)
-ink-1732005944.jpeg)
-ink-1732005943.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी