सर्लाहीमा खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार ईश्वरपुर नगरपालिका–६, झन्झट टोलकी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा मृत्यु भएको हो। खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन्। गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो।
स्थानीयले तत्काल उद्धार गरी बयलवासस्थित अस्पतालमा पुर्याएका थिए। त्यहाँबाट थप उपचारको लागि कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको थियो।
तर कीर्तिपुरमा उपचार नहुने भनेपछि चितवनस्थित भरतपुर अस्पताल पुर्याउँदा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको उनले बताए।