हिउँद लागिसक्यो। यो मौसममा कतिपयलाई चिसो पानीले नुहाउन त परै जाओस्, पानी छुनै नपरे हुन्थ्यो जस्तो पनि लाग्ला। त्यसैले धेरै मानिस जाडोभरि तातो पानीले नै नुहाउँछन्।
तातो पानीले नुहाउनुका फाइदा छन्। यसले मांसपेशी र जोर्नीको दुखाइ कम गर्न सक्छ, राम्रोसँग निदाउन मद्दत गर्न सक्छ।
तर अमेरिकाको सिकागो विश्वविद्यालयमा छाला विज्ञानकी सह-प्राध्यापक डा. भिक्टोरिया बारबोसाका अनुसार तातो पानीले नुहाउँदा तपाईंको छालालाई कुनै फाइदा हुँदैन।
तातो पानीले हाम्रो छाला र कपाललाई कसरी असर गर्छ भन्नेबारे कमै मात्र अध्ययन भएको छ। तर धेरै विशेषज्ञको विचारमा एकदम तातो पानीले नुहाउँदा त्यसले छालाबाट तेल र 'मोइस्चर' (आर्द्रता) कायम राख्ने पदार्थहरू हटाउन सक्छ। त्यसैले उनीहरू मनतातो पानीले नुहाउने सल्लाह दिन्छन्।
डा. बारबोसा तातो पानीले हरेक दिन होइन, कहिलेकाहीँ मात्रै नुहाउनुपर्ने बताउँछिन्।
छालामा तातो पानीको असर
मिसिगन मेडिसिनमा छाला विज्ञानका सहायक प्राध्यापक डा. ब्लेयर जेन्किन्स पानीको तापक्रमले छालामा पार्ने असरबारे धेरै अध्ययन नभएको बताउँछन्।
छाला विशेषज्ञहरूका अनुसार तातो पानीसँग विशेष गरी सुगन्धित र कठोर पदार्थबाट बनेका साबुन प्रयोग गरियो भने त्यसले छालाको सबभन्दा बाहिरी तहलाई क्षति पुर्याउन सक्छ।
बोस्टनकी छाला विशेषज्ञ डा. पाओला बेकर भन्छिन्, 'छालाको बाहिरी तह मृत कोशिकाहरूबाट बनेको हुन्छ। ती कोशिकाहरूलाई सेरामाइड, फ्याटी एसिड र कोलेस्ट्रोल जस्ता पदार्थले वरिपरि घेरेका हुन्छन्। लिपिड भनिने यी पदार्थले छालामा मोइस्चर जोगाइराख्न मद्दत गर्छन्।'
यो तहमाथि एमिनो एसिड, पसिनामा पाइने एसिड, र सिबम (रौंका जरानजिकै रहेका ग्रन्थीले निकाल्ने र मोइस्चर जोगाउने तैलीय पदार्थ) बाट बनेको एउटा पातलो तह हुन्छ। यसले छालाको बाहिरी तह बलियो राख्न मद्दत गर्छ र हानिकारक ब्याक्टेरियाबाट बचाउँछ।
विज्ञहरूका अनुसार धेरै तातो पानीले नुहाउँदा केही मात्रामा सिबम निस्केर छाला सुक्खा हुन सक्छ। त्यति मात्र होइन, बाक्लो गरी रहेका लिपिडहरूले आफ्नो संगठित संरचना पनि गुमाउन सक्ने र यसले छालाको बाहिरी तहबाट पानी निस्कन झनै सजिलो बनाउने स्पेनका छाला विशेषज्ञ डा. ट्रिनिडाड मोन्टेरो-भिल्चेज बताउँछन्।
डा. मोन्टेरो-भिल्चेज तातो पानीले छालामा पार्ने असरसम्बन्धी सन् २०२२ मा प्रकाशित एक अध्ययनका लेखक पनि हुन्। उक्त अध्ययनबाट के पत्ता लाग्यो भने वयस्कहरूले तातो र चिसो पानीमा हात डुबाउँदा तातो पानीले धेरै क्षति पुर्याउँछ। तातो पानीका कारण छालाबाट धेरै पानी निस्केर जाने, छालाको बाहिरी तह कमजोर हुने, छाला रातो हुने र छालाको पिएच मात्रा बढ्ने देखियो।
कपालमा तातो पानीको असर
छालामा जस्तै तातो पानीले सिबम निकालेर कपाल पनि सुक्खा बनाउन सक्छ। तर यस विषयमा धेरै कम अध्ययन भएको छाला विशेषज्ञहरू बताउँछन्।
एरिजोनाको मेयो क्लिनिकमा छाला विज्ञानकी सहायक प्राध्यापक डा. एलिका होसका अनुसार सिबम उत्पादन गर्ने ग्रन्थीहरू हाम्रो छालामा लगभग जताततै पाइन्छन् तर हाम्रो अनुहार र टाउकोमा ती ठूलो संख्यामा हुन्छन्।
जब हाम्रो टाउकोमा रहेको कुनै ग्रन्थीले सिबम निकाल्छ, त्यो तैलीय पदार्थले रौंको बाहिरी सतह ढाक्छ। तातो पानीले कपाल पखाल्दा त्यसले केही सिबम पनि बगाएर लग्न सक्ने डा. होस बताउँछिन्। फलस्वरूप कपाल रूखो र सुक्खा हुन सक्छ।
छाला र कपाल स्वस्थ राख्न के गर्ने?
छाला विशेषज्ञहरूका अनुसार तपाईंको कपाल वा छाला सुक्खा छैन, वा तपाईंलाई एक्जिमा वा सोरायसिस जस्तो समस्या छैन भने तपाईं साताको एक वा दुई दिन तातो पानीले नुहाउन सक्नुहुन्छ। चिल्लो छाला वा कपाल हुनेले त्योभन्दा धेरै नुहाउन सक्ने डा. जेन्किन्स बताउँछन्।
तर सकेसम्म मनतातो पानीले नुहाउनु नै राम्रो हुन्छ। विज्ञहरू ५ देखि १० मिनेट मात्र नुहाउन सुझाव दिन्छन्। उनीहरूका अनुसार कपाल पनि दिनहुँ धुनुको साटो आवश्यक पर्दा मात्रै स्याम्पु प्रयोग गर्दा बेस हुन्छ।
त्यसैगरी डा. बारबोसा नुहाएपछि छाला चिसै हुँदा मोइस्चराइजर लगाइहाल्न सल्लाह दिन्छिन्।
(द न्यूयोर्क टाइम्समा प्रकाशित लेखमा आधारित)