काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कात्तिक २९ गते फेसबुकमा स्ट्याटस लेख्दै फोहोरमा राजनीति गर्ने दिन सकिएको उल्लेख गरे।
महानगरले फोहोर व्यवस्थापन र ढुवानीमा गराउन खोजेको प्रतिस्पर्धामा अवरोध पुग्ने गरी नेपवेष्टले हालेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश नदिएको उल्लेख गर्दै मेयर शाहले फोहोर व्यवस्थापनमा रहेको एक खालको अवरोध पाखा लागेको बताएका थिए।
महानगरले असोज २४ गते फोहोर वर्गीकरणका लागि आह्वान गरेको टेन्डर सूचनाविरूद्ध नेपवेष्ट प्राइभेट लिमिटेडले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यले बिहीबारको सुनुवाइमा अन्तरिम आदेश जारी नगरेपछि टेन्डर प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।
महानगरलाई ७ क्षेत्रमा विभाजन गरी योग्यता पुगेका निजी कम्पनी तथा फर्मलाई प्रस्ताव पेस गर्न सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ।
सूचनामा भने अनुसार ७ वटा क्षेत्र भनेको के हो? त्यसलाई के आधारमा विभाजन गरिएको छ? त्यसले महानगरबासीलाई के फाइदा हुन्छ र फोहोर व्यवस्थापनमा कसरी दिगो र प्रभावकारी बन्छ भनेर वातावरण विभागका इन्जिनियर रामप्रसाद नेपालसँग कुराकानी गरेका छौं।
उनका अनुसार हाल तीन आधारमा फोहोर संकलनका लागि महानगरलाई ७ वटा क्षेत्रमा विभाजन गरिएको छ।
पहिलो, स्थानान्तरण केन्द्र सञ्चालन गर्न जग्गाको उपलब्धता र सहजता।
दोस्रो, फोहोर उत्पादन गर्ने घरधुरीको संख्या, फोहोरको अनुमानित परिणाम र प्रकृति।
तेस्रो, फोहोर संकलन र ढुवानी गर्दा लाग्ने अनुमानित सञ्चालन खर्च र निर्देशक समितिले तोकेका अन्य कुनै आधार।
माथि देखाइएको टेबुलमा महानगरपालिकाको कुन क्षेत्रमा कुन कुन वडा पर्छन् र सो क्षेत्रबाट दैनिक कति फोहोर उत्पादन हुन्छ भनेर देखाइएको छ।
क्षेत्र नम्बर एकमा दैनिक कुहिने र नकुहिने १२१ टन फोहोर संकलन हुन्छ भने २, ३, ४, ५, र ६ मा क्रमशः ९१.१७, ८९.३६, १३९.०९, १२२.५८ र १३५.७३ टन फोहोर संकलन हुन्छ।
इन्जिनियर नेपालका अनुसार फोहोरमैला संकलन तथा व्यवस्थापनको लागि दुइटा छुट्टाछुट्टै टेण्डर आह्वान गरिएको छ।
'फोहोरमैला व्यवस्थापनको लागि आह्वान गरिएको टेण्डर दुई किसिमको छ,' उनले भने, 'पहिलो भनेको फोहोर संकलन गरी ल्याण्डफिल साइटसम्म लग्नको लागि हो भने अर्को अपरेसन अफ मटेरियल रिकभरी फ्यासिलिटी सिस्टम (स्थानान्तरण केन्द्र सम्बन्धी) का लागि गरिएको छ।'
महानगरले फोहोर संकलनका लागि ६ क्षेत्रका लागि टेण्डर आह्वान गरेको थियो। जसमा क्षेत्र नम्बर ४ मा दुइटा बिड परेको छ भने हरू पाँच क्षेत्रमा एक-एक कम्पनीले बिड हालेको उनले बताए। अहिले त्यसको प्रक्रिया अगाडि बढेको छ भने स्थानान्तरण केन्द्र व्यवस्थापनका पनि बिड हाल्न आह्वान गरिएको छ।
पहिलो कुरा गरौं फोहोर संकलक तथा ढुवानी सेवा प्रदायकले कसरी काम गर्छ।
काठमाडौंको कोर सिटी अर्थात् सात नम्बर क्षेत्रको वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ को फोहोर महानगरपालिका आफैले उठाउँदै आएको हुँदा त्यस क्षेत्रका लागि टेण्डर आह्वान गरिएको छैन। हाल ती सबै ठाउँका फोहोर उठाएर टेकुमा लगेर थप वर्गीकरण गर्दै आएको छ। यी ठाउँमा अब पनि महानगरपालिकाले फोहोर संकलक र ढुवानीको काम गर्नेछ।
तर अन्य क्षेत्र नम्बर सात बाहेक क्षेत्रमा भने प्रतिस्पर्धा गर्दा जुन कम्पनीले पाउँछ सोही कम्पनीले काम गर्नेछ।
फोहोर संकलक तथा ढुवानी सेवा प्रदायकको काम भनेर ठाउँ-ठाउँबाट फोहोर उठाएर ढुवानी गर्ने मात्रै हो। उनीहरूले त्यसैका लागि मात्र टेण्डर पाएका हुन्छन्।
फोहोर संकलन तथा ढुवानीको ठेक्का पाएको सेवा प्रदायकले कसरी काम गर्छ?
पहिलो भनेको फोहोर उत्पादकलाई चार महिनाभित्र फोहोर स्रोतमै वर्गीकरण गर्न सिकाउने छ। फोहोर उत्पादकले कुहिने, नकुहिने, स्यानिटरी, हानिकारक र पटके फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने छ। यो दायित्व उनीहरूको नै हुने कार्यविधिका उल्लेख छ। वर्गीकृत फोहोरलाई गाडीमा छुट्टाछुट्टै राख्न सक्नुपर्ने व्यवस्था मिलाउनुपर्ने कार्यविधिमा उल्लेख छ।
फोहोर संकलकले फोहोर उत्पादकले स्रोतमै वर्गीकरण गर्न सक्ने जनचेतनामूलक कार्य गरी जानकारी दिनुपर्नेछ। अर्कातर्फ फोहोर उत्पादकलाई फोहोर कसरी वर्गीकरण गर्ने भनेर सिकाउनु संकलकको दायित्व हुनेछ। फोहोर उत्पादकलाई चार महिनाभित्र वर्गीकरणबारे शिक्षा दिई कार्यान्वयनमा ल्याउनु फोहोर संकलकको दायित्व हुनेछ। र यी सबै मापदण्डको महानगरले अनुगमन गर्नेछ।
यसरी वर्गीकरण गरेको फोहोर संकलन गरिने रूट, समय र विधि, शुल्क लगायत सबै विवरण सेवा प्रदायकले फोहोर उत्पादकलाई जानकारी दिने कार्यविधिमा उल्लेख छ।
'संकलन भएको फोहोर ढुवानी गरी स्थानान्तरण केन्द्र र विसर्जन स्थल (बञ्चरेडाँडा) सम्म सम्बन्धित सेवा प्रदायकले नै गर्नेछ,' कार्यविधिमा भनिएको छ, 'सेवा प्रदायकले आफूले जिम्मा पाएको क्षेत्रको सार्वजनिक स्थलहरूमा उत्पादन हुने फोहोर बढार्ने, वर्गीकरण गर्ने र संकलन गर्ने काम गर्नुका साथै स्थानान्तरण केन्द्र र विसर्जन स्थलसम्म आवश्यकता अनुसार पुर्याउनुपर्नेछ।'
नेपालले उदाहरण दिँदै स्पष्ट पारे- 'पहिले घरको फोहोर लिन आएको कम्पनीले बाटोमा फोहोरको डङ्गुर देख्दा पनि घर-घरबाट निकालिएको फोहोर मात्र लिएर जान्थ्यो। तर अब त्यस्ता फोहोर देख्यो भने ठेक्का पाएको कम्पनीले संकलन गरी वर्गीकरण गर्नेछ र सो ठाउँ सफा राख्नेछ। त्यो वर्गीकरण गरेको फोहोर स्थानान्तरण केन्द्र लग्नेछ भने विसर्जन गर्नुपर्ने छ भने पनि सोही कम्पनीले विसर्जन स्थलसम्म ढुवानी गर्नेछ।'
महानगरबासीले फोहोरको शुल्क तिर्नुपर्छ कि पर्दैन?
फोहोर उत्पादकले सेवा लिएबापत शुल्क तिर्नुपर्ने उनले बताए। तर शुल्क भने महानगरको आर्थिक ऐनमार्फत सालबसाली रूपमा तोकेबमोजिम हुने उल्लेख छ। उक्त शुल्क फोहोर उत्पादक, फोहोरको परिणाम र फोहोरको प्रकृतिलाई आधार मानी निर्धारण गरिने छ।
'अहिलेको लागि दैनिक १५ किलो फोहोर उत्पादकले मासिक ३०० रुपैयाँ बुझाउनुपर्नेछ', उनले भने।
फोहोर उत्पादकले शुल्क महानगरमै वा वडा कार्यालयमा गएर बुझाउनुपर्छ?
अहिले त्यसबारे निर्क्योल नगरिसकेको उनले बताए। तर डिजिटल भुक्तानीको सिस्टम लागू गर्ने महानगरको योजना छ। कसरी गर्ने भनेर काम भइरहेको उनले बताए।
'फोहोर उत्पादकले पहिलेझैं कुनै एक कम्पनीलाई शुल्क तिर्नुपर्दैन,' उनले भने, 'सबै क्षेत्रका फोहोर उत्पादकले सिधै महानगरपालिकामा शुल्क बुझाउने छन्। सोही शुल्कबाट महानगरले सम्बन्धित क्षेत्रका फोहोर संकलकलाई भुक्तानी गर्नेछ। यसो हुँदा महानगरबासीसँग महानगर रहेको प्रत्याभूति पनि रहन्छ भन्ने छ। तर निर्णय भइसकेको छैन।'
कार्यविधिको परिच्छेद-५ को १८ मा भने सेवा शुल्क संकलन गर्ने प्रक्रियाबारे उल्लेख गरिएको छ। सोमा फोहोर उठाएबापत लिने शुल्क महानगर आफैले उठाउन सक्ने वा सेवा प्रदायकमार्फत उठाउन सक्ने उल्लेख छ। तर सेवा शुल्क संकलन गर्दा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने छ।
अर्कातर्फ फोहोर संकलक सेवा प्रदायकको काम भनेको सम्बन्धित क्षेत्रको संकलन भएको फोहोर ढुवानी गरी सम्बन्धित क्षेत्रको स्थानान्तरण केन्द्र र विसर्जन स्थलसम्म ढुवानी गर्नुपर्ने दायित्व हुने उनले स्पष्ट पारे।
उदाहरणका लागि अब क्षेत्र नम्बर २ को सबै फोहोर सेवा प्रदायकले पशुपति गृह पछाडि तोकिएको स्थानान्तरण केन्द्रमा लग्नेछ। त्यहाँ स्थानान्तरण केन्द्रको जुन कम्पनीले ठेक्का पाएको छ उसले अपरेसन अफ मटेरियल रिकभरी फ्यासिलिटी सिस्टम अनुसार फोहोरलाई पुनः प्रयोग गर्न मिल्ने र मल बनाउन मिल्ने फोहोरलाई सोही बमोजिम प्रयोगमा ल्याई बेच्ने छ। तर वर्गीकरण गरी विसर्जन स्थलमा लग्नुपर्ने छ भने संकलन तथा ढुवानीको ठेक्का जुन कम्पनीले पाएको छ उसैले लग्नुपर्ने प्रावधान छ।
'यसो हुँदा सबै फोहोर स्रोतमै वर्गीकरण भइसकेको हुनेछ,' उनले भने, 'प्रत्येक क्षेत्रको स्थानान्तरण केन्द्रमा वर्गीकरण भएको फोहोर जाँदा त्यहाँ फोहोर छान्ने भार कम हुन्छ। उनीहरूले त्यहाँ मल बनाउन मिल्ने फोहोरलाई मल बनाउने छन् भने अन्य बेच्न मिल्ने सुख्खा फोहोरलाई सोही अनुसार प्रयोग गर्नेछन्। यसो हुँदा प्रत्येक क्षेत्रबाट कामै नलाग्ने फोहोर मात्र डम्पिङ साइडमा जानेछ। यसो हुँदा बञ्चरेडाँडाको आयु पनि बढ्ने छ।'
काठमाडौंको कोर सिटी अर्थात् ७ नम्बर क्षेत्रको वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ को फोहोर महानगर आफैले उठाउँदै आएको छ। यो क्षेत्रको स्थानान्तरण टेकु तोकिएको छ। त्यही भएर सबै फोहोर टेकुमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण हुँदै आएको छ। अब त्यो काम स्रोतबाट उठाउने बेला नै हुन्छ। यो क्षेत्रका लागि दुवै टेण्डर आह्वान गरिएको छैन।
यसका लागि स्थानान्तरण केन्द्र व्यवस्थापन समिति गठन गरिएको हुनेछ। जसमा स्थानान्तरण केन्द्र रहेको वडाको वडा अध्यक्षको संयोजकत्वमा समिति गठन हुनेछ। जसमा स्थानान्तरण केन्द्रमा फोहोर संकलन हुने अन्य वडाका वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य रहनेछ भने विभागका प्रमुखले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
उक्त समितिले तोकिएको क्षेत्रको फोहोर संकलन, स्थानान्तरण केन्द्रमा फोहोरको मात्रा घट्ने कार्य गरी विसर्जन स्थलसम्म ढुवानी गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्छ भने संकलकले सम्झौताअनुसार काम भएको छ कि छैन भनेर अनुगमन गर्नेछ।