इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीलाई विगत तीन चार दिनयता दाङ तुलसीपुरका विभिन्न ठाउँबाट नक्कली नोटबारे सूचना आइरहेका थिए।
बुलेट वा पल्सर बाइकमा सवार युवा ५० रुपैयाँका रिचार्ज कार्ड वा तयारी खाजा किन्ने बाहनामा आएका हुन्थे। छुट्टा छैन भन्दै ५० रुपैयाँको सामान किन्दा उनीहरू एक हजारकै नोट पसलमा दिन्थे। बाँकी फिर्ता माग्थे। जति सक्यो छिटो निस्कन्थे। उनीहरू सकभर एकान्त स्थानका घुम्ती पसलहरू छनोट गरी किन्न गएका हुन्थे। यस्ता केही घटना तुलसीपुर–११ उरहरी चोक आसपासमा भए। एकाध घटना तुलसीपुरको बसपार्क क्षेत्रमा भएको पाइए।
पसलेहरूले ती नोटहरू नियालेर हेर्दा शंकास्पद देखे। कारण उनीहरूले ती नोटहरू लगेर अन्त सामान किन्न जाँदा नक्कली भन्दै सामान दिन मान्दैन थिए। पीडितले त्यो कुरा प्रहरीसमक्ष बताइरहेका थिए।
ठाउँ-ठाउँबाट नक्कली नोटहरू आएको सूचनापछि प्रहरीले आफ्नो अनुसन्धान सुरू गरिरहेको हुन्छ। उरहरी क्षेत्रमा सिसी टिभी नभए पनि तुलसीपुरको बसपार्क क्षेत्र पिपलबोट नजिकको एउटा घटनाबाट प्रहरी अनुसन्धान बढाउँछ।
अनुसन्धान कार्यमा तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रकाश थापा र प्रहरी निरीक्षक राज खत्रीको टोलीले सिसी टिभी फुटेजहरू झिकाएर विश्लेषण सुरू गर्छ। सुराक अनुसार पसलमा गएर सामान किन्ने युवकको पहिचान गर्छ। पक्कापक्की भइसकेपछि उनीहरूको खोजीमा प्रहरी खट्छ।
बिहीबार राति ९ बजेतिर तुलसीपुर–५ बसपार्क क्षेत्रको पिपलबोट नजिकै पसलमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना फेरि पनि प्रहरीमा आउँछ। सोही सूचनाको आधारमा प्रहरी निरीक्षक खत्रीको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले नक्कली नोटको सटहीमा गएका केही युवालाई नियन्त्रणमा लिन सफल हुन्छ। एकपछि अर्को गर्दै २० वर्ष मुनिका तीन जना पक्राउ पर्छन्।
उनीहरू तीनै जनाले ती नोट तुलसीपुर उपमहानगरपालिका – १० राइखलियानका ३० वर्षीय राममणि चौधरीले आफूहरूलाई दिएको बयान गर्छन्। प्रहरी उनको खोजीमा लाग्छ। मध्यरातमा उनलाई पनि नियन्त्रणमा लिन्छ। जसलाई प्रहरीले मुख्य अभियुक्त मानेको छ।
चौधरीले नै (जाली) नक्कली नोटहरू काठमाडौंबाट ल्याएको आशंका भइरहेको बताउँछ।
‘ती जाली नोटहरू चौधरीले नै काठमाडौंबाट ल्याएर अन्य युवाहरूलाई दिएको तीन जनाले बयान गरेका छन्,’ प्रहरी प्रवक्ता थापाले भने, ‘तर, चौधरी भने बोल्दै बोल्दैनन्।’
प्रहरीका अनुसार चौधरीलाई विगतमा ज्यान मुद्दा थियो। उनी पछिल्लो समय काठमाडौं बस्दै आएको प्रहरीले बताएको छ। पक्राउ परेका अन्य तीन जनामा तुलसीपुर–८ का १७ वर्षीय सुमन विक, तुलसीपुर–९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका–४ घर भई तुलसीपुर–९ बेलुवा बस्दै आएका १७ वर्षीय शिशिर विक रहेका प्रवक्ता थापाले बताए।
उनीहरूको साथबाट नेपाली रुपैयाँ एक हजारका १२ थान नक्कली नोटहरू बरामद भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
एउटा बुलेट र अर्को टु-ट्वान्टी मोटरसाइकल पनि बरामद भएका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।