ललितपुर महानगरपालिकाले संस्कृति संरक्षणको क्षेत्रमा काम गरेका दुई जना संस्कृतिविद्लाई सम्मान गरेको छ।
बिहीबार एक कार्यक्रम गर्दै महानगरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य बज्रचार्यले संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिने घोषणा गरी सम्मान गरेको हो।
मेयर महर्जनले उनीहरूको दिनचर्या सहज बनाउन सवारी साधन, सुरक्षाकर्मीको रूपमा नगर प्रहरी, मोबाइल सेटसहित सम्मान गरेको बताए।
‘उहाँहरूको दिनचर्या सहज होस्, हिँड्डुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौं,’ उनले भने, 'उहाँहरू भाषा, संस्कृति र सम्पदाको क्षेत्रमा शब्दकोष हुनुहुन्छ।'
यस्तै, सम्मानित व्यक्तिद्वय अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परे सम्पूर्ण खर्च महानगरले व्यहोर्ने जनाइएको छ।
उपमेयर मञ्जली शाक्य बज्रचार्यले सम्मानित व्यक्तित्वहरू कला, साहित्य र सम्पदाको क्षेत्रमा विश्वविद्यालय भएको बताइन्।
त्यस्तै, सम्मानित व्यक्तिहरू हरिराम जोशी र छत्रबहादुर कार्यस्थले कला, संस्कृति र सम्पदाको क्षेत्रमा आफूहरूले गरेको कामको कदर गर्दै सम्मानसहित सुविधा दिएकोमा धन्यवाद दिए।
संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएका छन्। संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन्।
यसैगरी सम्मानित भएका संस्कृतिविद् छत्रबहादुर कायस्थद्वारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। कायस्थद्वारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएको छ।
ललितपुर महानगरपालिकाले यस अघिसंस्कृतिविद्, शताब्दीपुरूष सत्यमोहन जोशीको सम्मान स्वरूप सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको थियो।