वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका १२ हजार ९ सय ७४ जना छात्राहरूलाई एकदिने प्रशिक्षण दिएको छ।
वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीले छात्राहरूलाई प्रशिक्षण दिएका हुन्।
खानेपानी मन्त्री प्रदीप यादवले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सरकारले महिला सशक्तीकरणका लागि दीर्घकालीन रूपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए।
उनले वीरगञ्ज महानगरपालिकाले एकसाथ नगर क्षेत्रका १२ हजार ९ सय ७४ छात्राहरूलाई तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुसी व्यक्त गर्दै तालिमले छात्राहरूलाई आत्मविश्वास बढाउने बताए।
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर नि:शुल्क रूपमा तालिम दिँदा दुई देश बीचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तीकरण गरी सक्षम बनाउने नीति लिएको उनको भनाइ छ।
खानेपानी मन्त्री यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबी गरे।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले छात्राहरूलाई दिएको आजको तालिम सुरूआत मात्रै भएको बताउँदै अब वीरगञ्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाको लागि मार्शल आर्ट्ससम्बन्धी तालिम दिइने जानकारी दिए।