इस्ट इण्डियाको अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५७ औं विजयी उत्सव मनाएको छ।
शनिबार सिन्धुलीगढीमा सिन्धुलीको कमलामाई नगरपालिकाले गढीमा एक कार्यक्रमको आयोजना गर्दै विजयी उत्सव मनाएको हो।
विक्रम संवत् १८२४ मा अंग्रेजलाई वीरतापूर्वक हराए नेपाललाई ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट जोगाएको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजयउत्सव मनाउने गरेका छन्।
कार्यक्रममा पालिका प्रमुख उपेन्द्र कुमार पाेखरेलले ठुलोगढीकिल्लामा झण्डोत्तोलन गर्दै यस पटक देशमा बाढी पहिरोले विपत्ती परेकाले सामान्य औपचारिकताका निम्ति मात्रै कार्यक्रम गरिएको र भव्य रुपमा गर्न नसकिएको जानकारी दिए।
१८२४ मा कप्तान किनलकको नेतृत्वमा आधुनिक हतियारसहित आएका अंग्रेज फौजलाई शिकारी वंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले घरेलु हतियारबाटै परास्त गरेको इतिहास छ।
यसै सन्दर्भमा सिकारी सरदार वंशु गुरुङ प्रतिष्ठानको तर्फबाट प्रकाशित वंशु गुरुङ स्मारिकाको पनि विमोचन गरिएको छ।
कार्यक्रममा वंशु गुरुङ प्रतिष्ठानको तर्फबाट कप्तान लालजंग गुरूङको नेतृत्वमा काठमाडौं र पोखराबाट प्रतिष्ठानका सदस्यहरुको पनि उपस्थिती थियो।
सिन्धुलीगढीमा नेपालकै पहिलो र ऐतिहासिक युद्ध संग्रहालय पनि छ।