पशुपतिमा जन्मे-हुर्केका ३२ वर्षीय अमर (नाम परिवर्तन) लाई ५ वर्षसम्म बिहान-बेलुका दुई छाक टार्नेबाहेक केही चिन्ता थिएन। उनी पशुपति क्षेत्रमा शव जलाउने ठाउँमा दाउरा मिलाउने र पानी बेच्ने गुजारा चलाउँथे।
उनकी श्रीमती ३१ वर्षीया मिरा (नाम परिवर्तन) ले पनि मौसम अनुसार चिया-पानी बेचेर अमरलाई सघाउपघाउ गर्थिन्। उनीहरूको कमाइले दुई सन्तानको जसोतसो पेट भरिन्थ्यो।
तीन वर्षअघि दम्पतीले छोराछोरीलाई पढाउने रहर गरेपछि उनीहरूको खर्चको चाङ थपिँदै गयो। त्यैपनि दम्पतीले सन्तालाई पढाउने रहर पन्छाएका छैनन्।
उनीहरू जसरी पनि सन्तानलाई शिक्षाले बाटो देखाउन ध्याउन्नमा छन्।
उनीहरूले तीन वर्षअघिदेखि स्कुल पठाउन थालेका हुन्। ८ वर्षीय छोरा कक्षा ३ मा र ६ वर्षीय छोरी कक्षा १ मा पढिरहेका छन्।
उनका अनुसार छोरालाई दुई/तीन महिना पढाउनसाथ कक्षा १ मा भर्ना गरिएको थियो। छोरीलाई शिशु कक्षामा राखिएको हो। उनीहरूलाई सुरूआती वर्षमा पशुपति क्षेत्र नजिककै सामुदायिक विद्यालयमा पठाउन थालिएको हो।
'सुरूआती वर्षमा पुस्तक, झोला र खाजा विद्यालय ले नै दियो,' उनले, 'कापी कलम र लुगा हामीले किनिदियौं। त्यति जुटाउन पनि हामीलाई धौ–धौ भयो।'
उनले थपे- 'हामीजस्तालाई पढाउन कठिनै रहेछ।'
स्कुल पढाउन थालेको दुई/चार महिना उनीहरूलाई ड्रेस, कापी किन्नै समय लाग्छ। ६/७ महिना पुगेपछि वा अन्तिम परीक्षा भन्दाअघि कागजात माग्छन्। नभएपछि स्कुल फेरिदिनुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
'तीन वर्षमा तीन वटा स्कुल फेरिसक्यौं, अब कसरी पढाउने भन्ने कुराले पिरोल्न थालेको छ,' अमरले भने, 'स्कूल फेरिरहँदा पढाइ पनि बिग्रिने रहेछ।'
उनको छोराको पढाइ सामान्य छ। छोरी भने जहाँ पढाए पनि टप टेनभित्र पर्छिन्। छोरा पनि सानोमा राम्रै पढ्थ्यो। उमेर बढ्दै जाँदा पढाइ कमजोर हुँदै गएको उनले बताए।
स्कुल परिवर्तन गरिरहेकाले पढाइ बिग्रिएको होकि भन्ने उनीहरूको आशंका छ। यसरी वर्षैपिच्छे स्कुल फेरिरहनुको एउटै कारण हो- उनीहरूको सरकारी कागजात अर्थात नागरिकता नहुनु।
अमर र मीरा दुवैसँग सरकारी कागजात (नागरिकता) छैन। उनीहरूलाई एक दशकअघिसम्म नागरिकता बनाउनुपर्छ भन्ने पनि केही थाहा थिएन।
उनीहरूलाई कसैले पनि यसबारे कहिले केही भनेनन्।
मीराका आमा १३/१४ वर्षअघि पशुपतिमै सुतेको ठाउँमा बितेकी थिइन्। त्यहीँका मानिसले मुचुल्का उठाएर अन्त्येष्टि गरिदिएका थिए। बुबाको बारेमा मीरालाई केही जानकारी छैन।
यता अमरको केस भने अलि पृथक छ।
उनकी आमाले आफ्नो घर ओखलढुंगा भएको बताएकी थिइन्। मानसिक सन्तुलन अलिअलि बिग्रिएकाले उनलाई एक दशकअघि पशुपतिमै छोडेर गइन्।
उनले आमालाई खोजतलास गर्नेक्रममा आमाका आफन्तले गाउँमा पुर्याएको भन्ने खबर उनले पाए। आफन्तको सहयोगमा उनी आमालाई भेट्न त्यहाँ पुगे। तर उनकी आमाले छोरा स्वीकार गरे पनि उनका आफन्तले अमरलाई छोरा नमानेको उनले बताए।
उनले बताए अनुसार अमरकी आमा बुवा बितेको डेढ महिना नपुग्दै तीन दशकअघि विछिप्त अवस्थामा काठमाडौं आइपुगेकी थिइन्। त्यतिबेला गर्भवती भएकी कुरा उनकी आमालाई काठमाडौं आइपुगेपछि मात्र थाहा भयो।
उनका बुवातर्फका आफन्तहरूलाई छोरा भयो भन्नेसमेत थाहा नभएको अमर बताउँछन्।
'म हुर्केसँगै आमाको बिस्तारै मानसिक अवस्था बिग्रँदै गयो, यही पशुपतिमा माग्ने, खाने गरेर हुर्किएँ,' उनले भने, 'यहाँ जे पाइन्थ्यो त्यही खाइन्थ्यो।'
उनले विवाह भएको केही समय अघिसम्म लागूपदार्थ खान्थे। छोराछोरीलाई पढाउने जिम्मेवारी बढेसँगै त्यो कुलत त्यागेको उनले बताए। उनकी आमाले एक दशकअघि देखि फरक व्यवहार गर्न थालेकी थिइन्।
बेलाबेलामा आफै रूने कराउने र कता कता हराउने गर्थिन्। ५/६ वर्षअघि आफन्तले गाउँ लगेका हुन्। आफू भने नगएको उनले जानकारी दिए।
उनी पशुपतिमा आमालाई गाउँसम्म पुर्याइदिएकी आफन्तको सहयोगमा गत साल ओखलढुङ्गा पुगे। तर आफन्तले छोरा नै होइनजस्तो व्यवहार गरेको उनको भनाइ छ।
'आमाको मानसिक सन्तुलन बिग्रिएको भन्दै छोरा होइन भन्ने शंका उत्पन्न भयो। त्यसैले मावलीले आफ्नो कुरा सुनेनन्,' अमरले भने, 'आमाको मानसिक अवस्था बिग्रँदा दु:ख भयो।'
उनका आमालाई अविवाहित भनेर नागरिकता बनाइदिएका रहेछन्। तर आफूलाई भने मावलीले नै अस्वीकार गरे। आफू जन्मिँदा भएका व्यक्तिहरू एक–दुई जना छन्। जो ओखलढुङ्गा जान मान्दैनन्। त्यसैले आफ्नो नागरिकता नबनेको उनले बताए।
पशुपतिमै जन्मे-हुर्केको हुँदा यहाँबाट पनि कोही सहयोग नभएको उनको भनाइ छ।
नागरिकता यति धेरै आवश्यक कागजात हो भन्ने पनि थाहा भएन। अहिले छोराछोरी पढाउन थालेपछि आफ्नो नबने पनि उनीहरूको बने हुन्थ्यो भन्ने दम्पतीलाई लाग्छ।
उनीहरूलाई छोराछोरी पढाउनुपर्छ भन्ने पनि लाग्दैनथ्यो। उनीहरू पशुपतिमा पानी, चिया बेच्ने क्रममा एकअर्काले कहिले छोरा, कहिले छोरीलाई साथमा लिएर हिँड्थे।
मीरालाई धेरैले यसरी साथमा लिएर हिँड्नुभन्दा स्कुल पढाउन सल्लाह दिन्थे। अमरलाई पनि धेरैले त्यही भन्थे। छोराछोरीले पढेपछि बुढेशकालमा सुख पाइन्छ, हेर्छन् भन्ने सल्लाह उनीहरूका ग्राहकहरूले दिन्थे।
त्यही सल्लाह सुनिरहँदा दम्पतीको मनमा पढाउने रहर जाग्यो र तीन वर्षअघि स्कुल पठाउने निर्णय गरेका थिए।
'प्रत्येक वर्ष नयाँ नयाँ स्कूलमा पठाउँछौं, कागजात मागेपछि निकाल्छौं,' उनले भने, 'सबैभन्दा पहिलाको स्कुलबाट अन्तिम परिक्षा नसक्दै कागजात ल्याउनु भन्नुभयो। अनि पठाएनौं।'
उनले दोस्रो वर्ष सिनामंगल नजिककै सामुदायिक विद्यालयमा पठाउन थाले। त्यहाँपनि छोराछोरीलाई झोला, पुस्तक नि:शुल्क दिइएको थियो। आधा शैक्षिक सत्र सकिएपछि स्कुलले कागजात माग्यो। त्यसपछि आफैले त्यहाँबाट निकालेको उनी बताउँछन्।
अहिले पुरानोबानेश्वर नजिकै बोर्डिङ स्कूलमा हालेका छन्। आधा शैक्षिक सत्र नसकिनै लाग्दा जन्मदर्ता मागिरहेका छन्। यसपटक पनि त्यहाँबाट निकाल्ने हो कि भन्ने पीर दम्पतीलाई पिरोलिरहेको छ।
'स्कुलमा छोराछोरीलाई कागजात छैन भन्ने आभास नहोस् भनेर स्कुल फेर्न बाध्य छौं,' उनले भने, 'बच्चालाई केही भनिदिन्छन् कि भन्ने डर लागिराख्छ त्यसैले स्कुल चेन्ज गरेका हौं।'
उनले थपे- 'ठूलो भएपछि बुझ्लान् तर अहिले आफ्ना समस्या सुनाउन मनै लाग्दैन।'
दम्पतीलाई दुवै सन्तानलाई उच्चशिक्षा हासिल गराउने सपना बुनेका छन्।
'आफू नपढेर धेरै कुराहरूमा पछि परियो, त्यसैले छोराछोरीले पढून भन्ने लाग्छ,' उनले भने,' त्यही भएर हामी दु:ख गरिरहेका छौं। नत्र मागेरै दुई छाक टरिहाल्थ्यो।
उनले थपे- 'यही छोराछोरीका लागि हामीले मागेर पुग्दैन भनेर काम गर्न थाल्यौं।'
अमर अहिले घर बनाउने काममा पनि ज्यालामा जान्छन्। मीराले पनि बिहानबेलुका अरूको घरमा काम गर्ने र फुर्सदमा पशुपति परिसरमा चिया–पानी बेच्ने गर्छिन्।
तीन दशक पार गरिसकेका दम्पतीको दुई दशकअघिको दैनिकी फरक थियो। दिनभरि माग्न हिँड्ने, बेलुका त्यही मागेको पैसाले मदिरा खाएर सुत्थे।
अहिले उनीहरू सन्तानका खुसीका लागि बिहानदेखि अबेर साँझसम्म काम गरिरहेका छन्।
'त्यतिबेला छोराछोरी पढाउनुपर्छ भन्ने हेक्का नै भएन, आफू पढेको भए पो थाहा हुन्थ्यो,' उनले मीरातिर हेर्दै भने, 'हामी दुवैले पढ्ने अवसर पाएनौं।'
उनीहरू दुवैजना पशुपतिमै जन्मे- हुर्केका हुन्। पशुपतिमै विवाह भयो। उनीहरूलाई आफ्नो पारिवारिक अवस्था पनि प्रष्ट थाहा छैन। बुबा-आमाकै नागरिकता नभएको र पुर्ख्यौली गाउँघर थाहा नहुँदा उनीहरू दुवैजना नागरिकताविहीन छन्।
दम्पती आफ्नो नागरिकता नबने पनि छोराछोरीको जन्मदर्ता बनाएर पठाउन मात्र पाए पनि हुन्थ्यो भनेर विभिन्न सरकारी निकाय धाइरहेका छन्। तर अहिलेसम्म कसैले सहयोग गरेका छैनन्।
'हामी दुवै जना नभएको भए, कुनै संस्थाले बनाइदिन सक्थ्यो रे! हामी जिउँदै छौं। त्यसैले बन्दैन,'अमरले भने, 'हामी हुँदाहुँदै छोराछोरीलाई कसरी टुहुरो बनाउनू!'
उनी नागरिकता बनाउन भनेर काठमाडौं जिल्ला प्रशासन, काठमाडौं महानगरपालिका वडा-८ को वडा कार्यालय बुझ्न गएका थिए। त्यही उनलाई बा-आमाको नागरिकता नभइ सन्तानको जन्मदर्ता हुँदैन भनेर फर्काएको उनी बताउँछन्।
आफ्नो उमेर आधा गइसक्यो। सन्तानको भर्खर सुरूआत हुँदैछ। त्यसैले उनीहरूको भविष्यको चिन्ताले पिरोल्न थालेको दम्पतीको भनाइ छ।
'जन्मदर्ता नै भएन भने जसोतसो गरेर कक्षा सातसम्म पढ्न पाउँछन्,' उनले भने, 'त्यति पढेर केही काम नै पाइदैन भन्छन्। हाम्रा छोराछोरी जहाँको तहीँ हुने भएँ।'