नेपाली वैज्ञानिक डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ मा 'जज कमेन्डेसन' अवार्ड प्राप्त गरेका छन्। बुधबार लन्डनमा आयोजना गरिएको एक समारोहमा उक्त अवार्ड घोषणा तथा प्रदान गरिएको थियो।
भूकम्पविद्का रुपमा नेपालमा काम गरिरहेका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्व तयारीको लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो।
सुवेदीले नेपालमा भूकम्पबाट हुन सक्ने जोखिम कम गर्नको लागी भूकम्प शिक्षामार्फत उल्लेख्य काम गरिसकेका छन्। यो बर्षको अवार्डमा मनोनयमा छनोट भएका आठ जना वैज्ञानिकमध्ये विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला वैज्ञानिक थिए ।
हरेक वर्ष विश्वका विभिन्न वैज्ञानिकलाई प्रदान गरिने यो अवार्ड जोन म्याडक्सका नाममा प्रदान गरिन्छ। विज्ञान र वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणमा आधारित नीतिको लागि आवाज उठाउने वैज्ञानिकलाई प्रदान गर्ने गरिएको छ।
उनी गीतकार तथा संगीतकार पनि हुन्। उनले लेखेका 'घामजस्तो चम्किलो जुन हुँदैन', 'भुमरीमा परे भने म', 'किन यस्तो हुन्छ', 'भुल्नै भयो धु', 'बाँचेको छु धन्न', 'नरोउ है आमा' लगायतका दर्जनौ गीतहरु लोकप्रिय छन्।
हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविदको रुपमा कार्यरत छन्।