दिनभरि सुत्ने र रातभरि उठ्ने चरा कुन हो?
हामीमध्ये धेरैले भनिहाल्छौं — उल्लू।
धेरैलाई जानकारी भएको कुरा नै हो यो। तर यसका बारेमा थुप्रै रोचक तथ्यहरू धेरैलाई थाहा हुँदैन।
रहस्यमयी देखिने उल्लू चरा जगतकै रोचक चरामध्ये एक हो। यसको दृष्टि रातमा तेजिलो हुने भएकाले आफ्नो सिकार रातमै गर्छ। संसारभर यसका दुई सयभन्दा धेरै प्रजाति छन्।
शान्त उड्नु र तीखो सुन्नु उल्लूको खास विशेषता हो। हाम्रो समाजमा कसैलाई 'केही नजान्ने' भन्नुपर्दा वा संकेत गर्नुपर्दा विशेषणका रूपमा पनि 'उल्लू' शब्द प्रयोग गरिन्छ। तर संसारका धेरै ठाउँमा यो चरालाई बुद्धि र रहस्यको प्रतीक मानिन्छ।
यही उल्लूका बारेमा ९ रोचक तथ्य यहाँ प्रस्तुत छ।
शान्त उडान
उल्लू आवाजै ननिकाली उड्ने चरा हो भन्दा हुन्छ।
यसको शरीर र पखेटामा विशेष किसिमका प्वाँख हुन्छन् जसका कारण एकदमै शान्त भएर उड्न सक्छ। यसको अगाडिको प्वाँख तहतह भएको र पछाडिको प्वाँख मलमल जस्तै नरम हुन्छ। प्वाँखको यही खास विशेषताका कारण यसमा हावा छिर्दैन। अनि उल्लू उड्दा आवाज आउँदैन।
शान्त उडानका कारण उल्लूलाई आफ्नो सिकार वा आहार समात्न पनि सजिलो हुन्छ।
तीखो सुनाइ
उल्लूको कान पनि विशेष हुन्छ। यसको एउटा कान अर्को कानभन्दा माथि वा तल हुन्छ। यही विशेषताका कारण यसको सुन्ने क्षमता र शक्ति असाधारण हुन्छ।
तीखो सुनाइकै कारण यसलाई अन्धकार वा धेरै उचाइमा हुँदा पनि सिकार खोज्न गाह्रो हुँदैन। यसले आफ्नो वरिपरि सिकार भएको सुनेरै पत्ता लाउन सक्छ।
धेरै प्रजाति
संसारभर उल्लूका दुई सयभन्दा बढी प्रजाति छन्। घाँसे मैदानदेखि, मरूभूमि र हिमालसम्म बस्ने यसका स्वरूप र आकार पनि विभिन्न हुन्छन्। सबभन्दा सानो 'एल्फ' नामको उल्लू हो जुन एउटा पेय पदार्थको क्यान जत्रो मात्र हुन्छ। सबभन्दा ठूलो भनेको 'ग्रेट हर्न्ड' नामको उल्लू हो। यसको पखेटा पाँच फिटसम्मको हुन्छ।
उल्लूको आकार र स्वरूपले पनि यसको बासस्थान झल्काउँछ।
ठूला आँखा
उल्लूका आँखा अरू सामान्य चराको तुलनामा ठूला हुन्छन्। ठूला र तेजिला आँखा भएकैले यसले अन्धकारमा सहजै सिकार गर्न सक्छ।
यसको दृष्टि दूरबिनको जस्तो हुन्छ जसका कारण टाढैबाट पनि आहार देख्न सक्छ।
तर यसले हामी मान्छेले जस्तो आँखाभित्रको भाग घुमाउन सक्दैन। वरपर हेर्न यसले आफ्नो घाँटी नै घुमाउनुपर्छ।
फनफनी घुम्ने टाउको
उल्लूले आफ्नो जिउ नचलाइकन २७० डिग्रीसम्म टाउको घुमाउन सक्छ। यसको आँखा नघुम्ने भएकाले पनि यसको टाउको यत्ति धेरै घुम्न सक्ने हुन्छ। टाउको घुमाएरै यसले आफ्नो वरपर हेर्ने, आहार खोज्ने र सिकार गर्ने काम गर्छ।
यसरी टाउको घुमाउन सक्नुको कारण यसको घाँटीमा विशेष हड्डी भएकाले हो। यस्तो हड्डी उल्लूको घाँटीमा १४ वटा हुन्छ। मान्छेकोमा ७ वटा हुन्छ।
बलियो चुच्चो र पञ्जा
उल्लूको चुच्चो र पञ्जा एकदमै बलियो हुन्छन्। यसको सिकार गर्ने हतियार नै यिनै हुन्। चुच्चो र पञ्जाकै मद्दतले उल्लूले आफ्नो सिकार टुक्राटुक्रा गरेर मार्न सक्छ।
विविध आहार
उल्लूको प्रजाति अनुसार फरक फरक आहार हुन्छ। अधिकांश उल्लूले मुसा खान्छन्। त्यस्तै कुनैले स-साना कीरा, माछा, चरा नै खान्छन्। 'बार्न' नामको उल्लूले सर्प जस्ता साना घिस्रिने जीव र भ्यागुताजस्ता जीव खान्छ।
बासस्थान र त्यो ठाउँमा कुन सिकार उपलब्ध छ भन्ने कुराले पनि उल्लूको आहार तय हुन्छ।
लुक्न वा नदेखिने भएर बस्न सक्ने
उल्लूहरूको अर्को विशेषता भनेको बसेको ठाउँमा 'अदृश्य' जस्तो हुन सक्नु हो। यसको शरीर वा प्वाँखको रङ रूखका बोक्रा, पात, जंगलको भुइँ वा उसको बासस्थानको स्वरूपको जस्तै हुन्छ। उल्लू आफ्नो रङ अनुसारको वातावरणमा मिलेर बस्न सक्छ।
जस्तै कुनै पातको जस्तो रङ भएको उल्लू छ भने त्यो त्यस्तै रङको पातको बीचमा लुकेर बस्छ। यसरी बस्ने भएकैले मान्छे वा सिकारले उल्लूलाई सहजै देख्न सक्दैनन्।
नपचेको खाने कुरा ओकल्ने
उल्लूले आफूले पचाउन नसकेको आहार ओकलेर निकाल्छ। जसरी केही चराले निलेको खानेकुरा ओकलेर बचेरालाई खुवाउँछन्, उल्लूले खाएर नपचेको कुरा ओकलेर निकाल्छ।
खासगरी आहारका हड्डी, प्वाँख, रौंहरू यसले पचाउन नसकेको देखिएको छ। उल्लूको यही बानीका कारण वैज्ञानिकहरूलाई यसको आहारबारे अध्ययन गर्न सहज भएको हो।
(टाइम्स अफ इन्डियामा प्रकाशित लेखको भावानुवाद)