थाइल्यान्डबाट पहिलोपटक नेपाल आएका पर्यटक पोङजाकोर्न रोक्सा यति बेला आफूलाई भाग्यमानी ठान्दै छन्। किनभने, उनले नेपालका प्रमुख चाडपर्वको उल्लास मात्र देखेनन्, आफै त्यसमा सहभागी हुने मौका पनि पाए।
'पहिलोपटक नेपाल घुम्न आएको छु, यता चाडपर्वको उत्सव लागेको रहेछ,' उनले भने, 'पोखरा आएपछि भाइटीका लगाउन पाएँ। म भाग्यमानी रहेछु।'
थाइल्यान्डबाट साथीहरूसँग शुक्रबार काठमाडौं आइपुगेका रोक्सा आइतबार मोटरबाटो हुँदै पोखरा आएका थिए। पोखरा आउनेबित्तिकै उनको टोली भाइटीकामा सहभागी भयो। उनीहरूले बालिकाहरूका हातबाट सप्तरंगी टीका, ढाका टोपी र माला लगाए। सेलरोटीसहित नेपाली खानाको स्वाद चाखे।
काठमाडौंमा दुई दिन घुमेर पोखरा आएका रोक्साको टोली सोमबार पाँच दिनलाई मर्दी पदयात्रा जाने तयारीमा छ। जम्मा ११ दिनलाई नेपाल घुम्न आएका उनले नेपालको मुख्य चाडपर्वमा सहभागी भएर संस्कृति बुझ्न पाएको बताए।
'नेपालको संस्कृति देख्दा नौलो अनुभव गरेको छु। सबै मिलेर खुसियाली साट्दा रहेछन्,' उनले भने, 'यति अनौठो संस्कृति छ भनेर सोचेको पनि थिइनँ।'
पोखराका सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउन आएकी एक चिनियाँ शिक्षिकाले पनि नेपाल बस्दाको अनुभव उत्कृष्ट रहेको बताइन्।
'नेपालीको जीवनशैली फरक रहेछ,' उनले भनिन्, 'दिपावली मनाउन हामीलाई निम्तो गर्नुभयो। यो अनुभव हामी कहिल्यै भुल्ने छैनौं।'
होटल एसोसिएसन अफ नेपाल (हान) पोखराले आइतबार साँझ पर्यटकका लागि भाइटीका कार्यक्रम राखेको थियो। कार्यक्रममा अमेरिका, जर्मनी, बेलायत, चीन, भारत, रूस, स्पेन, मंगोलिया, थाइल्यान्ड र ताइवानका गरी ५६ जना पर्यटक सहभागी भए।
उनीहरूलाई लोकसाइडको रेन्बो चिल्ड्रेन होममा आश्रित बालिकाहरूले सप्तरंगी टीका र माला लगाइदिए। पुरूष पर्यटकलाई ढाका टोपी र महिला पर्यटकलाई रातो मफलर उपहार दिए।
पर्यटकहरूलाई सगुनस्वरूप हानले सेलरोटीसहित नेपाली खानाको व्यवस्था मिलाएको थियो। नेपालको प्रकृति र संस्कृति देखेर दंग परेका पर्यटकले बालबालिकासँगै नेपाली मौलिक गीतमा नाचगानसमेत गरे।
हान पोखराले १७ वर्षदेखि पर्यटकलाई भाइटीका लगाउन थालेको अध्यक्ष लक्ष्मण सुवेदीले बताए। कोभिड महामारी बेला दुई वर्ष यो कार्यक्रम रोकिएको थियो। पर्यटकलाई यस्ता सांस्कृतिक चाडपर्वमा सहभागी गराउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने उनको विश्वास छ।
'पर्यटकलाई भाइटीका लगाइदिएर हामीले सांस्कृतिक अनुभव आदानप्रदान गरेका हौं,' उनले भने, 'भाइटीका लगाएपछि पर्यटकहरू उत्साही हुनुभएको छ। धन्नै छुटिएछ भनेर गौरव महसुस गर्नुभएको छ।'
नेपालको मुख्य पर्यटकीय सिजनमा दुईवटा ठूला चाड दसैं र तिहार पर्छन्। यो बेला आउने पर्यटकले नेपालको सांस्कृतिक अनुभव लिन पाउँछन्। अंग्रेजी महिना सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पदयात्राका मुख्य सिजन हुन्। अधिकांश पर्यटक पदयात्राकै लागि आउने गरेको नेपाल पर्यटन बोर्डको रेकर्ड छ।
पर्यटकीय सहर पोखरामा रहेका पर्यटकलाई नेपालको जनजीवन, प्रकृति र संस्कृति देखाउन आवश्यक भएकाले यस्ता महोत्सवलाई सहयोग गरेको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेल बताउँछन्।
'भौगोलिक हिसाबले कतिपय देशका ठाउँहरू उस्तै देखिन सक्छन्। जनजीवन, रहनसहन र संस्कृतिले नै ती देशका मानिस किन फरक छन् भनेर छुट्टयाउँछ,' उनले भने, 'हामीले मनाए जसरी दिपावली अन्यत्र मनाउँदैनन्। हामीले यही फरक देखाउन पर्यटकका लागि भाइटीका महोत्सव आयोजना गरेका हौं।'
तिहारमा कुकुरदेखि गाई र गोरूको पूजा गर्ने परम्परा देखेर पर्यटक दंग पर्ने गरेको उनले बताए। नेपालीहरू प्रकृतिलाई कसरी सम्मान गर्छन्, जीवन र जनावरलाई कसरी सम्मान गर्छन् भनेर पर्यटकले आफै देख्न पाएको उनको भनाइ छ।
'पर्यटकहरूलाई चाडपर्वमा सहभागी गराउँदा लामो समय उनीहरूको सम्झनामा रहन्छ। आफ्नो देश गएपछि परिवार र साथीहरूलाई सुनाउँछन्। यसले नेपालकै पर्यटन प्रवर्द्धन हुन्छ,' उनले भने, 'पर्यटकहरूले पनि यसलाई नेपालीले गरेको माया र सम्मानका रूपमा लिएका छन्।'