दाङमा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुईजना घाइते छन्।
जिल्लाको घोराही उपमहानगरपालिका – १४ लुहासुरका ५५ वर्षीय पैदल यात्रु नन्दबहादुर घर्तीको मोटरसाइकलको ठक्कर दिँदा मृत्यु भएको छ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले घर्तीलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकलको ठक्करबाट अर्की पैदल यात्रु लुहारसुरकी ४५ वर्षीया मनकली नेपाली घाइते छिन्। उनको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ। नेपालीको अवस्था मध्यम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले बताए।
शुक्रबार बेलुकी साढे ७ बजेतिर घोराही – १४ नयाँ बसपार्कमा डुमरगाउँ बाट मिलनचोकतर्फ जाँदै गरेको लु. प्र ०२००१ प ०७४६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्।
त्यस्तै मोटरसाइकल दुर्घटनाका घाइते तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीका ५० वर्षीय दोर्ण थापाको उपचारका क्रममा मृत्यु भएको छ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट कपुरकोटतर्फ जाँदै गरेको रा ३ प ७१८५ नम्बरको मोटरसाइकलले गत शनिबार तुलसीपुर–४ रक्षाचौरमा अनियन्त्रित भइ दुर्घटनामा भएको थियो।
दुर्घटनाका घाइते मध्य मोटरसाइकलमा सवाल थापाको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको इलाका प्रहरी कर्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।
थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–३ राम्रीका २० वर्षीय सुशान्त मगर घाइते छन्। उपचारपछि हालद उनी प्रहरी हिरासतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।