कञ्चनपुरमा दम्पतीको हत्या भएपछि स्थानीयहरू त्रसित भएका छन्।
लालझाडी गाउँपालिका–१ बिनबारीमा बिहीबार राति घर बाहिर सुतेको अवस्थामा दम्पत्तीको हत्या भएको थियो। रमेश बडायक र उनकी श्रीमती कमला बडायकमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको हो। प्रहरीले घटनास्थलबाट हतियार भने फेला पारेको छैन।
मृतक रमेशको टाउको र उनकी श्रीमती कमलाको टाउकोमा र मुखमा धारिलो हतियार प्रहार गरी भएको चोट छ।
यसरी गाउँमा वीभत्स हत्या भएपछि स्थानीयहरू त्रसित भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार अहिलेसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन।
‘कोही फेला परिसकेका छैनन्। हामी अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘उनीहरू उक्त घरमा दुई जनामात्रै बस्थे। पसल गरी बसेका थिए। घर पनि एकान्त ठाउँमा छ। नजिकै अन्य घरहरू छैनन्।’
त्यसदिन बिहान मर्निङ वाकमा निस्किएका एक जनाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे बुझ्न प्रतिनिधि सभा सदस्य तारा लामा तामाङसहित शनिबार घटनास्थलमा पुगेका थिए। उनले घटनास्थल नजिकै प्रहरी बिट स्थापना गर्नुपर्ने बताएका छन्। प्रहरी बिट स्थापना गर्न आफूले पहल गर्ने उनले बताए।
‘यो घटनाले सुरक्षा निकायको उपस्थिति बढाउनुपर्ने आवश्यकता देखिएको छ। अब यो विषयमा थप गम्भीर हुनुपर्ने देखिन्छ। मैले सरकारसँग आग्रह गरेको छु,’ उनले भने।
सो क्षेत्र इलाका प्रहरी कार्यालय शंकरपुर अन्तर्गत पर्छ। उक्त कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा २३ जना प्रहरी रहने दरबन्दी छ। तर अहिले प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा ६ जना मात्रै प्रहरी छन्।
शनिबार नै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसी घटनास्थल पुगेका थिए। उनले पनि प्रहरी बिट स्थापना गर्न पहलको आवश्यकता रहेको भन्दै सांसद तामाङसमक्ष आग्रह गरेका थिए।
सुरक्षा निकायको आवश्यकता महसुस भएको हुँदा जिल्ला सुरक्षा समितिले निर्णय गरे सुरक्षा पोष्ट स्थापना हुन सक्ने केसीले बताए।
‘त्यहाँ सुरक्षा पोष्ट स्थापना गर्न जिल्ला सुरक्षा समितिले निर्णय गरे हामी केन्द्रमा सिफारिस गर्छौं र त्यसपछि केन्द्रले प्रहरी कार्यालय स्थापना गर्छ,’ उनले भने।
प्रहरी चौकी राख्ने ठाउँ, भौतिक संरचना र अन्य विषयमा पनि थप छलफल हुन आवश्यक रहेको उनी बताउँछन्। प्रहरी कार्यालय स्थापना भएपछि गाउँमा यस्ता जघन्य अपराध नहुने स्थानीयले अपेक्षा राखेका छन्।
प्रहरीको उपस्थिति नहुँदा यस्तो घटना भएको त्यहाँका पूर्वगाउँपालिका अध्यक्ष समेत रहेका मदनसिंह बडायकको भनाई छ।
‘हामीले प्रहरी कार्यालय स्थापनाको माग गरेका छौं। प्रहरी कार्यालय स्थापना भएपछि यस्ता घटना हुने थिएनन् भन्ने हामीलाई लाग्छ,’ उनले भने।
केही समयअघि लालझाडीमै एक जनाको हत्या भएको थियो। अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन्। स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरी तत्काल दोषी पक्राउको माग गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी केसीले अनुसन्धान साघुँरिदै गएको भन्दै केही दिनमा दोषी पक्राउ गर्ने दाबी गरे।