पोखराको घारीपाटनमा कोठा भाडामा बसेकी भगवती थापा मगरले विगत २ वर्षयता कोठा भाडा तिरेकी छैनन्। भाडा तिर्न उनीसँग पैसा छैन। यतिका समयसम्म पनि घरबेटीले भाडा मागेका छैनन्।
किनभने भगवतीले घरबेटीलाई कानमा लगाएको गहना देखाउँदै ‘बाबु, यो गहना निकाल्छु। भाडा जति छ त्यति राख्नु। अलिअलि बचेछ भने मलाई दिनू। अहिले अरू उपाय भएन’ भनेकी थिइन्।
उनका घरबेटी 'मनकारी' रहेछन्।
घरबेटीले जबाफ फर्काए– होइन आमा! त्यस्तो पाप गर्नु हुँदैन। तपाईंको पैसा आउँछ। बरू नआत्तिनु। आफ्नो ज्यानको ख्याल गर्नू। बा (भगवतीका श्रीमान्) त्यही कारणले बित्नुभयो। तपाईंको पनि हामीलाई पीर छ। यी दुइटा भाइबहिनीको मुख हेर्नू।
भगवतीका घरबेटीको जस्तो मन सबैको हुँदैन।
यही सहरमा रहेको रहेको सुर्यदर्शन सहकारी उनका सञ्चालक जिबी राई लगायतको समूहले भने भगवती र उनका श्रीमानले कमाएको लाखौँ रूपैयाँ सजिलै ठगी गरिदिए।
भगवती बचतकर्ताको बचत सहकारी अपचलन गरेर कानुनविपरीत गोर्खा मिडियामा लगेको भन्दै यसका पूर्वसञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशी, पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेलगायत व्यक्तिहरू हिरासतमा छन्। कतिपय थुनामा छन्।
३५ वर्षअघि भगवती र उनका श्रीमान् लमजुङबाट पोखरा आएका हुन्। उनका श्रीमान् वीरबहादुर पोखरा–भैरहवा गाडी चलाउँथे। बीचमा १२ वर्ष साउदी अरब पुगे। साउदीमा कमाएको पैसाले लेखनाथमा जग्गा किने।
अनि टिनको दुईकोठे झुपडी बनाए ।
उनको झुपडीमा सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका मान्छेहरूको आँखा लाग्यो। वीरबहादुरलाई जग्गा र दुइकोठे झुपडी बेचेर सहकारीमा पैसा राख्न लगाए। मासिक राम्रो ब्याज, पेन्सनझैं दिने प्रलोभन देखाए।
वीरबहादुरले अर्को ठाउँमा तीनकोठे झुपडी लिएर बस्ने सल्लाह गर्दै थिए। उनीहरूले सोचे जस्तै मूल्य पाए। लेखनाथको दुई कोठे झुपडी भएको जग्गा बेचे। अनि पैसा लगेर सुर्यदर्शन सहकारीमा राखे।
सहकारीको पासबुकमा वीरबहादुरका नाममा २१ लाख ५३ हजार रूपैयाँ छ। दुई बर्षअघि वीरबहादुरले श्रीमती भगवतीलाई लिएर सहकारीको कार्यालय गए। लेखनाथमै अर्को जग्गा किन्ने सल्लाह छँदै थियो।
सहकारीको कार्यालय बन्द रहेछ।
वीरबहादुरलाई चक्कर आयो। चक्करबाट बौरिएपछि पनि उनी निकै निराश भए। यताउता बुझ्दा दुई सहकारी बन्द भएको २ महिना बितेको रहेछ।
सहकारीमा काम गर्ने एक जना महिला भेटिइन्। सञ्चालक कोही काठमाडौं, कोही बुटवल त कोही कता गएको जानकारी दिइन्। एक दुई हप्तामा आउँछन् भनिन्। सहकारी खुलेपछि खबर गर्नू है भनेर वीरबहादुरले ती कर्मचारीलाई आफ्नो नम्बर दिए।
१५ दिन बित्यो फोन आएन। फेरि उनीहरू सहकारीको कार्यालय पुगे। कार्यालय परिसरमा त्यतिबेला वीरबहादुरका श्रीमान्–श्रीमती मात्र भएनन्। सहकारीमा पैसा राख्नेहरूको भिड जम्मा भएका थिए। कार्यालयको गेट बन्द।
त्यसपछि वीरबहादुरको दौडाहा सुरू भयो। कहिले काठमाडौं त कहिले भरतपुर अनि कहिले बुटवल। पोखराका अड्डा अदालत, महानगरपालिका, सिडिओ कार्यालय र सहकारी डिभिजन कार्यालय त कति गए कति।
जति धाउँदा पनि उनले आफूले राखेको पैसा फिर्ता पाएनन्। सहकारीका संचालक भेट्न पनि पाएनन्। अब पैसा आउँदैन कि भनेर चिन्ता लिन थाले।
‘यस्तो होला भनेर जानेको भए कसले राख्थ्यो र त्यो सहकारीमा पैसा। मैले खाइनखाइ छोराछोरीलाई लाउन खान दिइनदिइ जोगाएको पैसा आखिर यस्तो हुँदो रहेछ,’ उनले भनिन्।
पैसा पाइएला कि भनेर धाउँदा धाउँदा वीरबहादुर थाकेका थिए। पोखराका चिनेजानेका गन्यमान्ने सबैको दैलामा पुगेका थिए। बिहानबेलुकै त्यही कुरा गर्थे। घरमा पनि उनले पीडा लुकाउन खोज्थे। तर सक्थेनन्।
‘घरमा केही भन्नुहुन्थेन। हँसमुख नै देखिनुहुन्थ्यो। ढोका खोलेर भित्र पस्दा खायो मुर्दारले खायो भन्नुहुन्थ्यो,’ श्रीमान् सम्झँदै भगवतीले भनिन्, ‘मेरा छोराछोरीलाई मैले खान दिइनँ, लाउन दिइनँ। दुःखले जोगाएको पैसा अर्कैले खायो भन्नुहुन्थ्यो।’
बिहान उठेदेखि साँझ घर फर्कदासम्म सहकारीमै राखेको पैसा खोज्दा खोज्दै गएको पौष १२ गते वीरबहादुरलाई हृदयाघात भयो। भोलिपल्ट अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरिदियो।
‘यिनीहरूले यति सिधासाधालाई फसाइदियो। १२ वर्ष अरब बसेर कमाएको पैसा। त्यतिबेला सात लाखमा घडेरी किनेको पैसा,’ उनले भनिन्, ‘सहकारीले आफूलाई ठगेको कुरा सहन नसकेरै मेरा श्रीमानको ज्यान गयो।‘
सक्ने भए अर्काको घरमा भाडा माझ्ने र कपडा धुने काम गरेर भए पनि आफ्नो जोहो गर्ने उनको चाहना छ। घरबेटीलाई भाडा तिर्न नसकेको पीडा होस् वा छरछिमेकमा तिर्नुपर्ने ऋण।
भगवती आफ्नो पैसा अर्कैले खाइदिँदा पीडित मात्र छैनन्, आक्रोशित पनि छन्।
भगवतीलाई पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि गुनासो छ।
‘हामी जस्ता सिधासाधा मानिसको पैसा लगाएर ग्यालेक्सी टीभी खोल्ने अनि पैसा फिर्ता नगर्ने। त्यो त हामीलाई ठगेको भएन?’ उनले भनिन्, ‘आमाको दशधारा दूध हियारमा थियो भने गृहमन्त्री हुँदा जिबी राई झिकाउनुपर्दैन? म अनपढ छु। रवि नेपालको छोरो हो भनेर उनीहरूले राम्रो काम गरोस् भनेको थिएँ। अर्काको भागमा ठूलो हात गर्ने रहेछ।’
सहकारीबाट जति पैसा दिए पनि लामिछानेले लिएको उनको आशंका छ। लामिछानेले आफूले लिएको पैसा फिर्ता गर्नुपर्ने उनको माग छ।
‘रवि लामिछानेको आत्मा शुद्ध छ भने हाम्रो पैसा तिर्नैपर्छ। बरू मैले मात्र खाएको छैन। अरू अरू पनि छन्। अरूलाई पनि समेट्छु भनेर ल्याउन सक्नुपर्छ। मैले खाएको छैन भनेर हिँड्ने होइन,’ उनले भनिन्।
सहकारीबाट अवैध रूपमा पैसा लगेको गोर्खा मिडिया नेटवर्क प्रा.लिले संचालन गरेको ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष पूर्वडिआइजी छविलाल जोशी र टेलिभिजनका तत्कालीन संचालक एवम् प्रबन्ध निर्देशक रवि लामिछाने अहिले अनुसन्धानका लागि हिरासतमा छन्।
रविलाई हिरासतमा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता यतिबेला पोखरामा सडक आन्दोलनमा छन्। सहकारी पीडितको आन्दोलनमा आइतबार पुगेकी उनले रास्वपाको आन्दोलन पनि देखिन्। पीडितविरूद्ध आन्दोलन गरेको भन्दै उनले आक्रोश पोखिन्।
‘यसरी फलानो फलानोलाई छोड् भन्ने हो तिनीहरू? त्यस्ताहरू नेता होइनन्। दुःखी गरिबमारा हुन्,’ उनले भनिन्, ‘रवि लामिछानेले गल्ती गरेकै छैन भन्ने मान्छे रैछन् त्यहाँ त।’
भगवतीका एक छोरा र एक छोरी छन्। रोजगार राम्रो छैन। आम्दानीको बाटो पनि छैन। खान बस्न धौधौ भएकी उनले आफ्नो समस्या समाधान गर्न सरकारले चासो दिएको अनुभूति पनि गरेकी छैनन्।
‘मलाई यिनीहरूले बाटोमा सुताएका छन्। तिनीहरू भोलि नालीमा सुत्न परेनछ भने भन्नुस्,’ उनले भनिन्, ‘म त्यो आसिस दिन्छु तिनीहरूलाई त अब।’
सहकारीमा राखेको पैसा खोज्दाखोज्दै ज्यान गुमाएका वीरबहादुरसँगै केही समय पोखरा नागढुङ्गाकी अर्की सहकारी पीडित सूचना केसी पनि भौतारिँदै थिइन्। उनी कहिले मकै पोलेर सडक किनारमा बेच्छिन्। आजकल चटपट बेच्न ठेला धकेल्छिन्।
वीरबहादुरसँगै सहकारीको पैसा खोज्न काठमाडौं जाँदा उनीहरूले एक पटक कुमार रम्तेललाई भेटेका रहेछन्। वीरबहादुरले आफ्नो पैसा दिन हारगुहार गरेका रहेछन्। सूचनाले पनि आफ्नो दु:ख कहिन्।
कुमार रम्तेल सहकारीको ६५ करोड लगानी गरेर खुलेको ग्यालेक्सी टेलिभिजनका प्रबन्धक हुन्। रम्तेल सहकारी ठगी अभियोगमा पूर्पक्षका लागि थुनामा छन्।
सूचनाले सुर्यदर्शन सहकारी राम्रो छ भनेर सुरूवातदेखि नै पैसा राख्न थालिन्। सहकारीबाट आएको ब्याज पनि त्यहीँ राखिन्। चटपट र मकै बेच्न सुरूमा उनले अर्कै सहकारीबाट ऋण लिएकी थिइन्। बचत भने सुर्यदर्शनमा गरिन्।
उनको बचत खातामा अहिले २ लाख २८ हजार रूपैयाँ छ। खातामा देखिएर के भयो र ! नगद छैन। सहकारीको पैसा गैरकानुनी रूपमा दर्जनौँ कम्पनीमा गएका छन्। कम्पनीमार्फत देशविदेश पुगेका छन्। उनको हातमा शून्य छ।
‘पैसा खाएकाहरू अर्को ठाउँमा बसेका छन्। पीडितले कति दु:ख पाएका छन्,’ उनले भनिन्, ‘कति बेइज्जत गरेको हेर्नू त।’
उनले सहकारीमा आफ्नो बचतको हकदार छोरीलाई राखेकी छिन्। उनको एक छोरा पनि छन्। श्रीमानले भने उनलाई छाडेर अर्को विवाह गरेका छन्।
मुटुको भल्ब फेरेकी सूचनालाई स्वास्थ्यमा समस्या छ। जे पायो त्यही खान हुँदैन। गह्रौं काम गर्न पनि हुँदैन।
‘बिरामी ज्यान भोलि गंगालाल अस्पताल बस्नुपर्ला। त्यही पैसा टुकुटुकु ल्याएर खान्छु भनेर राखेको त,’ अर्कैले खाइदियो, उनले भनिन्।
सुर्यदर्शन सहकारीको समस्या समाधान गर्न सञ्चालक जिबी राई आउनुपर्ने उनको निचोड छ। उ नआइकन समस्या समाधान हुँदैन। उसलाई ल्याउन आफू गृहमन्त्री हुँदा रवि लामिछानेले चाहनुपर्थ्यो भन्ने उनको पनि धारणा छ।
‘रवि लामिछाने र जिबी राई राम्रा साथी हुन्। रविले ल्याउन सक्थे,’ उनले भनिन्, ‘उहाँले पनि पैसा खानुभएको छ रे। नखाएको भए लज्जित भएर जेलमा बस्ने उहाँको स्थिति होइन।’
लामिछाने पक्राउ परेपछि भइरहेको सडक आन्दोलनप्रति पनि उनी रूष्ट छन्। छानबिन गरेर अदालतको फैसला मान्नुपर्नेमा सडकमा बसेर ढाकछोप गर्न नहुने उनी बताउँछन्।
‘किन ढोकछोप गर्न आन्दोलन गरेका होलान्! यो त पाप हुन्छ नि,’ उनले भनिन्, ‘रवि लामिछानेलाई थुन्ने कारण त सबै पीडितलाई थाहा भयो नि । निर्दोष मान्छेलाई थुन्न मिल्छ र त्यसै।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको आन्दोलन सहकारी पीडितविरूद्ध भएको पनि उनको बुझाइ छ। यसरी आन्दोलन गर्नुका सट्टा सहकारीको पैसा मिलाउनतिर लाग्न उनले सुझाव दिइन्।
‘हाम्राविरूद्ध आन्दोलनमा उठ्ने भनेको त मुर्ख हो। रवि लामिछानेले पहिले पहिलो अरूलाई न्याय दियो, दया गर्यो, उद्धार गर्यो होला अब हामीलाई पनि चाहियो,’ उनले भनिन्।
रवि लामिछाने गृहमन्त्री हुँदा होस् वा चौथो ठूलो दलको सभापति। पीडितका पक्षमा केही काम गर्न नसकेको उनको गुनासो छ।
सहकारी पीडितले घाम, पानी केही नभनि दु:ख गर्नुपरेको भन्दै उनले लामिछानेले आफ्नो भागको पैसा तिर्नुपर्ने बताइन्। ‘रवि लामिछानेले आफ्नो भागमा परेको फिर्ता दिनुस् । किन जेलमा गएर बस्ने?,’ उनले भनिन्, ‘सिटमा बस्दाबस्दा भुइँ बस्ने कुरा आउँदैन।’
*शीर्षक परिवर्तन गरिएको