बाँकेका ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपमा प्रहरीले चार दिनपछि एक जना पुरूषलाई पक्राउ गरेको छ।
कोहल्पुर नगरपालिका-८ पिपिराका चन्द्रबहादुर कामीको शनिबार (असोज २६ गते) राति हत्या भएको थियो। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले रोल्पाका २४ वर्षीय अनिल परियारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार अनिललाई प्रहरीले राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान पक्राउ गरेको हो।
अनिल एक स्थानीयको घरको शौचालयमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्। उनलाई खोज्न इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्ट र इलाका प्रहरी कार्यालय कुसुमबाट प्रहरी नायब निरीक्षक मोहनलाल वलीको नेतृत्वमा संयुक्त टोली खटिएको थियो।
चन्द्रबहादुरको हत्यापछि अनिल जंगलको बाटो हुँदै भारत प्रवेश गर्ने योजनामा थिए।
असोज २७ गते बिहान झन्डै १ बजेतिर कोहलपुर-८ बंगलाचोकस्थित कच्ची सडकमा चन्द्रबहादुरको शरीर फेला परेको थियो। तर उनको टाउको भने फेला परेको थिएन।
शव फेला परेपछि अनुसन्धानकै क्रममा सोमबार चन्द्रबहादुरको टाउको फेला परेको थियो।
घटनास्थलबाट झन्डै ५ सय मिटर पर कोहलपुर-८ पिपिरीस्थित आरोपी अनिलकै बहिनीको घरको सेप्टिक ट्यांकीमा टाउको फेला परेको थियो। उक्त ट्यांकीबाट घटनामा प्रयोग भएको हतियारसमेत फेला परेको थियो।
‘साइकल’ खोज्दा फेला परे आरोपी
शव फेला परेपछि स्थानीयको सूचनाको आधारमा इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक भट्ट र प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको संयुक्त टोली अनुसन्धानका लागि खटिएको थियो।
कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि झिकाइएको थियो।
यस्तै जिल्ला प्रहरी कार्यालय बाँके नेपालगञ्जबाट पनि प्रहरी निरीक्षक नवीन चापागाइँको नेतृत्वमा पनि टोलीले अनुसन्धान थालेको थियो।
अनुसन्धानबाट घटनास्थलबाट करिब डेढ-दुई सय मिटर नजिकै एउटा सिसिटिभी क्यामेरा लगाएको फेला परेको थियो।
त्यसबाट फुटेज संकलन गरी हेर्दा सुनसान रातमा एक जना युवक कैद भएको देखिएको थियो। फुटेजमा युवकले केही सामान बोकेको समेत देखिएको थियो। उनी साइकलमा सवार थिए।
ती पुरूषबारे खोजी गर्दै जाँदा त्यस ठाउँबाट झन्डै पाँच सय मिटर टाढा प्रहरी अनिता परियारको घरमा पुगेको थियो। प्रहरीले उनको घरको आँगनमा रहेको एउटा ढुंगामा रगतको खतसमेत फेला पारेको थियो। सिसीटिभीमा देखिएका व्यक्तिबारे अनितालाई प्रहरीले सोधपुछ गर्दा उनले आफ्नो दाइ नाता पर्ने बताएका थिए। त्यसपछि प्रहरी अनिलको खोजीमा लागेको हो।
एसपी कार्कीले सिसिटिभीको फुटेज समयमै अध्ययन गरी घटना अनुसन्धानमा नलागेको भए र त्यो साइकलको खोजी नभएको भए घटना अनुसन्धानमा थप जटिल बन्नसक्ने बताए।
साइकल फेला परेपछि हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न र घटना अनुसन्धान गरी फरार अनिल समक्ष पुग्न प्राविधिक विश्लेषणसमेत गरेको उनले बताए।
सिसिटिभी फुटेजमै मृतक चन्द्रबहादुर र अनिलबीच भएको झगडा समेत प्रष्टसँग कैद भएको एसपी कार्कीले बताए।
दुवैले मदिरा सेवन गरेको र त्यसैबीच झगडा हुँदा हत्यासम्म हुनपुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कसैले घर आँगनमै राखेको हतियार फेला पारेर अनिलले प्रहार गरेको हुनुपर्ने पनि प्रहरीको अनुमान छ।
मृतक र आरोपीबीच के कारणले विवाद भएको भन्ने खुलिसकेको छैन। उनीहरूबीच पुरानो चिनजान समेत नभएको खुलेको छ।
पक्राउ परेका आरोपी अनिल वैशाखमा मात्रै जेलबाट रिहा भएका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरबाट उनीमाथि बलात्कार मुद्दा चलेको थियो। दोषी ठहर भई वैशाखमा मात्रै जेलबाट उनी रिहा भएका हुन्।
चन्द्रबहादुरको शव पोष्टमर्टका लागि प्रहरीले भेरि अस्पताल नेपालगञ्जमा पठाएको छ।