बाँकेको कोहलपुरमा विजयादशमीको रात भएको हत्याको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
बाँकेको कोहलपुर नगरपालिका-८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउकोबिनाको शव प्रहरीले सोमबार बिहान पौने २ बजेतिर फेला परेको थियो। हत्या गर्ने व्यक्तिले टाउको आफैसँग लगेर गएको हुँदा खोजी भईरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। सँगै सिसीटिभी फुटेजबाट पनि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सोधपुछ र सिसिटिभी फुटेजबाट हत्याराको पहिचान करिब भएको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन्।
हत्या गरिएका चन्द्रबहादुर ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन । उनको हत्यामा संलग्न व्यक्ति पनि चन्द्रबहादुरका चिनजानकै भएको र उनीपनि ज्याला मजदुरी गर्ने व्यक्ति रहेको ती प्रहरी बताउँछन्।
दशमीको रात उनीहरूले सँगै बसेर मदिरा सेवन गरेको र त्यसक्रममा दुई जनाबीच विवाद भएपछि चन्द्रबहादुर माथि धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ती प्रहरीले जानकारी दिए। हाल उनको परिचय गोप्य राखिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
चन्द्रबहादुरको हत्यापछि उनको टाउको हत्याराले नै प्लाष्टिकको झोलामा हालेर लगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। उनको खोजी भइरहेको छ।
टाउको बिनाको शब पोष्टमार्टमका लागि भेरि अस्पताल नेपालगञ्जमा लगिएको छ।