वीर अस्पतालका कर्मचारीहरूले हाजिर गर्न नदिएको भन्दै प्रदर्शन गरेका छन्।
५८ वर्षसम्म काम गर्न पाउने संवैधानिक व्यवस्थाविरूद्ध आफूखुसी उमेरहद ५० वर्षे कायम गरी ९ जना श्रमिकहरूलाई हाजिर गर्नबाट बञ्चित गराइएको भन्दै सुरक्षाकर्मी र सरसफाइकर्मीले प्रदर्शन गरेका हुन्।
वीर अस्पतालले २०८१ साउन ४ गते राजधानी दैनिकमा सूचना प्रकाशित गरेर सरसफाइ र सुरक्षाकर्मी आपूर्तिको बोलपत्र आह्वान गरी नयाँ श्रमिक राखिएको थियो।
श्रम ऐन, २०७४ को दफा १४७ मा ५८ वर्षसम्म काम गर्न पाउने व्यवस्था छ। विगतमा पनि १० जना श्रमिकहरूलाई ४५ वर्षे उमेरहद लगाई यसैगरी कामबाट निकाल्दा मुद्दा र आन्दोलनको बलमा पुनर्बहाली गराएका थिए। अहिले पनि उमेरहद राख्दै हाजिरबाट बञ्जित गराइएको भन्दै कर्मचारीहरू प्रदर्शनमा उत्रिएका छन्।
बसुन्धारा रम्तेल, संगीता श्रेष्ठ, जुनकेरी श्रेष्ठ, दिलबहादुर परियार,. इन्द्र राना, मुना बजगाई, सान्ता नेपाल, चौबहादुर गुरूङ, हिरा नेपालीले हाजिर गर्न नपाएको भन्दै प्रदर्शन गरेका हुन्।
नेपालको संविधान २०७२ को भाग ३ को ३३ मा रोजगारीको हक र ३४ मा श्रमको हक मौलिक हक छ। स्वतन्त्रताको हक, समानताको हक, सूचनाको हक, शोषण विरूद्धको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक समेत संविधानमा छ।
तस्बिरहरू:
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी