कल छेउमा हिलाम्य कपडाको रास छ। नातिनी र बुहारीलाई लिएर बिहान ९ बजेदेखि कलमा बसेकी छन् ६१ वर्षकी दुर्गामाया दर्जी। उनले साबुन लगाएको कपडा नातिनी र बुहारीले पखाल्थिन्। दिउँसो पौने २ भइसक्दा पनि लुगा धोएर सकिएको थिएन।
बिहानदेखि दुर्गामायाले ढाड सोझ्याउने फुर्सदसम्म पाएकी छैनन्। खाने त परको कुरा! माटोले पुरिएका कपडा जति नै धोए पनि बालुवा टलक्कै टल्किन्थ्यो त्यसले अझै दुर्गामायाको मथिंगल तताउँथ्यो।
धोएर चिटिक्क पारेर राखेका नयाँ लुगा पुराना जस्तो भयो भन्दै बेलाबेला भुतभुताइरन्थिन्।
'लगाएको बाहेक एक धरो पनि बाढीले बाँकी राखेन, त्यसैले धुन लागेकी दु:ख बिसाउनुमात्र होलाजस्तो छ,' उनले भनिन्, 'दु:खै गरेर जोडेका लुगा भएर फाल्न मायै लाग्यो।'
बागमतीमा बाढी आएपछि आधाभन्दा बढी सामान उनको टहरामा छैनन्। दराज, एउटा खाट, दुइटा ग्यास सिलिण्डर, खाद्यान्न, ससना सामान माटोमै मिसियो। बाढी मत्थर भएपछि पुरिएको ठाउँबाट सामानहरू निकाल्नै उनलाई दुई दिन लाग्यो।
थापाथलीको सुकुम्बासी वस्तीमा दुर्गामाया बस्न थालेको १९ वर्ष भयो। तर शनिबार बागमतीले जुन रूप देखायो त्यो अहिलेसम्म अनुभव नगरेको उनले बताइन्।
शनिबार बाग्मतीले रौद्र रूप लियो।
शुक्रबार बागमतीसँगै उनको मनमा पनि भेल उर्लिएको थियो। अघिल्लो वर्ष पनि बागमतीको बाढी ब्यहोरेकी थिइन्। त्यसबेला घरभित्रै घुँडाघुँडासम्म पानी छिरेको थियो। यसपालि पनि त्यस्तै होला भन्ने आकलन दुर्गामायाले गरेकी थिइन्।
शुक्रबार नै घरअगाडि माटाका बोराहरूले बाँध लगाएकी थिइन्। बेलुका ओछ्यानमा ढलिन् तर पटक्कै निद्रा परेन। पूरै सुकुम्बासी वस्तीमा उनकै जस्तो अवस्था थियो।
शनिबार बिहानपख पानीको सतह बढेर वस्तीमा पसिहाल्यो। दुर्गामायाले समान पोका पारेर खाट र दराजमाथि राख्न थालिन्। एकैछिनमा पानीले कम्मर नाघ्यो। यस्तो अवस्था अघिल्लो साल पनि बेहोरेको कारण पानी कम्मरसम्मै आए पनि आत्तिएकी थिइनन्। जलसतह घट्ने आशले कोठामै बसिरहिन्।
'पानीको सतह घट्नुको सट्टा कम्मर माथि चढ्न थालेपछि आत्तियौं। पानी बढ्दै गएपछि प्रहरीले पनि त्यहाँबाट निस्किन भन्यो, म भने घट्छ कि भनेर कोठामै बसिरहेँ,' उनले भनिन्।
उनको साथमा नातीनातिनी पनि त्यही घरमा थिए। घरभित्र जलसतह बढ्न थालेपछि खाटमाथि टेबल राखिन् र नातीनातिनलाई लिएर टेबलमाथि चढेर बसिन्।
'तर पानी घटेन उल्टै बढ्दै गयो। पानी घाँटीघाँटीसम्म पुगेपछि शनिबार बिहान ३ बजेतिर उनको परिवारलाई प्रहरीले उद्धार गर्यो।प्रहरी गाली गर्दै उद्धारका लागि नआएको भए हामी बाग्मतीको बाढीमा बग्थ्यौं,' उनले भनिन्, 'अहिले बाँचेर पनि किन बाँच्यौं होला जस्तो लागिरहेको छ, केही छैन,' उनले भनिन्।
दु:ख सुखले जोडेको सामान मात्रै बगाएन, छोरीको पासपोर्ट र टिकटसँगै नातिनीको नागरिकता र पासपोर्ट पनि बगायो।
उनले भनिन्, 'नातिनीले पासपोर्ट बनाएको १० दिनमात्र भयो अब फेरि अर्को बनाउन मिल्छ कि मिल्दैन होला!’
बागमतीको किनारामा पानी घटेपछि आइतबार नै घर हेर्न आएकी थिइन्। त्यो दिन पानी जमिरहेको देखेर भित्र छिर्नै सकिनन्। सोमबार भने छोराबुहारीसहित आएर हेर्दा उनको मन चिसो भयो।
उनले चिटिक्क पारेर सजाएकी घर बाग्मतीमै मिसिएको थियो। फोहोरको थुप्रामात्र होइन, उनका आधा सामान बाढीले बगाइसकेको थियो।
सोमबारदेखि मंगलबार बिहानसम्म हिलो माटोलाई बाल्टिनले फ्याँकेपछि एउटा कोठा बस्न लायक बनाएको उनी बताउँछिन्। बाँकी कोठा ओढ्ने-ओछ्याउनेदेखी अरू सामानलाई उनले जहाँको त्यही छोडिदिएकी छन्। पानी जमेर लुगाहरू भारी भएका छन्।
'अहिले सुकाउने ठाउँ पनि छैन, त्यसैले त्यही छोडिदिएँ। निकाले पनि अब काम लाग्दैन होला,' उनले भनिन्, 'दिनहुँ चिसो बढ्दैछ। हामीलाई फेरि यो बाढीले रूवायो।'
उनी भन्दै गइन्, 'मान्छे मात्र बाँचियो, अब अरू केही छैन, ओत लाग्ने छानो पनि भुइँ चिसो भयो।'
दुई दशकदेखि यसरी सुकुम्बासीको घर नै डुब्ने गरी बाग्मती उर्लिएर पसेको उनलाई याद छैन। यसअघि बाग्मती पसे पनि घुँडासम्म मात्र पानी आउँथ्यो। यसपाली मान्छे डुब्नेगरी पस्यो।
छोरी दसैंको पूर्णिमा सकेर फर्किने टिकट थियो। छोरीज्वाइँ बितेर घर आएकी थिइन्। अब फर्किन पाइनन् भने उसको पनि जिन्दगी खेर जान्छ भनेर उनी जुरूक उठिन्।
दुर्गामायालाई अहिले कसरी दुई छाक टार्ने भन्ने पीरले पिरोलिरहेको छ। शनिबार र आइतबार बिहानसम्मको तीन छाक खाना वडाले खुवायो। त्यसपछि दयामायाले दिएको पाउरोटी र चाउचाउ बिस्कुट खादै बसिरहेको उनी बताउँछिन्।
खाना पकाउन ग्यास चुलो र भाडाकुडा केही छैन। कोठा नसुकेसम्म खाना पकाउने बस्ने अवस्था नभएको उनको भनाइ छ।
दर्जी जस्तै कालुमान तामाङ पनि सोमबारदेखि नै बाढीले बगाएर बाँकी रहेका सरसमान निकाल्न र पखाल्न व्यस्त देखिन्थे।
उनी पनि मंगलबार बिहानदेखि नै खानपिन छोडेर कोठाका सामान निकालेर घाममा सुकाउन व्यस्त छन्। दुई/चारदिन घाम लागे न्यायोमा सुत्न पाइन्छ किन भन्ने झिनो आशा सुनाए।
वस्तीमा बाढी छिरेपछि उनी दुईदिनसम्म काठमाडौं महानगरपालिका-११ कै सुकुम्बासी वस्ती नजिककै स्कुलमै बसे। त्यहाँ आफू निदाउनै सकेनन्।
मंगलबार एउटामात्र कोठा सफा गरिसक्न पाए पनि घरमै सुत्ने उनको योजना छ।
'मलाई आफ्नो कोठाजस्तो प्यारो केही लाग्दैन। दुई-तीन दशक कमाएको पैसा यही सिँगार्न लगाइयो, त्यसैले होला छोड्नै मन लाग्दैन रहेछ,' तामाङले भने, 'यतिका वर्षको मेहनत माटोमै मिल्यो।'
उनका कोठाहरू अहिले पनि हिलाम्मे छन्। उनका तीनछोरासहित दुई छोरीहरू त्यहीँ बस्छन्। उनले त्यहाँ किचनसहित ५ वटा कोठा बनाएका छन्।
'दुई चार पैसा भयो कि त्यही कोठा सिँगार्न र आवश्यक सामानहरू जोड्दै गएँ। बाढीले आधा सामान खत्तम पारिदिहाल्यो,' उनी निराश सुनिए।
थापाथलीको सुकुम्बासी क्षेत्रमा बस्न थालेको २ दशक भएको उनी सुनाउँछन्।
१४ वर्षको हुँदा उदयपुरको गाइघाटबाट काठमाडौं छिरेका उनी घरमा आमा नभएका कारण नफर्किएको सुनाउँछन्। 'बुवा बितेको पनि थाहा भएन । १०/१५ वर्षपछि घर फर्किँदा चाल पाएँ। आमाबाबु कोही नभएसी दाजुभाइले पनि तिरस्कार गरे,' उनले भने।
त्यसपछि फेरि काठमाडौं आएका उनी त्यहाँदेखि गाउँ फर्किएका छैनन्। उनी अहिले ५५ वर्षका भइसके। केही वर्षअघि श्रीमती पनि बितेपछि अत्यन्त दुखित भएका थिए। यसपालि बागमतीले फेरि त्यस्तै दुःख दियो।
'हेर्न हुने केही सामान छैन, विरक्त लाग्यो,' उनले भने, 'बाढीले ओभानो भन्ने कही छोडेनछ।'
तीन चार महिनाको खाना खाजा कटौती गरेर रंगिन टिभी किनेका रहेछन्।
'आज कवाडीले ७५ रूपैयाँ दिन्छु भन्दैथियो तर दिइनँ,' उनले भने।
दराज, टिभि, खाट, टेवुलमात्र होइन, हेर्न हुने उनको घरमा कुनै सामान बाँकी थिएन। उनले कोठाका भएका सामानहरू बागमतीको किनारामा निकालेर राखेका छन्।
मंगलबार पौने दुईबजेतिर सेतोपाटीको टोली पुग्दा सुकुम्वासीमा जताततै लुगा सुकाइएको थियो। जस्ताको छानोमाथि पनि लुगाले छाइएको थियो।
बाग्मती किनारामा खाट र दराज टेबल ओढ्नेओछ्याउने भुइँमा थुपारिएको देखिन्थ्यो। कतिपय कोठा भित्रको लोदो माटो निकाल्न व्यस्त थिए।
५५ वर्षीया पवित्रा रनकैली पनि आफ्नो कोठाको माटो पन्छाउनै व्यस्त थिइन्। उनी बाढीले पुरिएका कोठाको सामान निकालेर लेदोमाटो उठाउँदै थिइन्।
त्यसका उनको बुहारी र बहिनीले पनि साथ दिइरहेका थिए। उनलाई निकालेको लुगाको चाङतिर देखाउँदै भनिन्- 'सिरक डसना कामै नलाग्ने भएछ, त्यो धोएर पनि काम छैन, 'बाढीले केही बाँकी राखेन मान्छे मात्र बाँच्यौं।'
बाँचेपछि ओत लाग्ने ठाउँ चाहियो नि! त्यही भएर पन्छाउन थालेको उनी बताउँछिन्। उनी त्यहाँ बस्न थालेको १९ वर्ष भइसक्यो। त्यसैले उनी वस्ती छोडेर जान चाहँदिनन्।
'ओत लाग्ने ठाउँ नै यही हो छोडेर कहाँ जानु ?,' उनले भनिन्, 'सरकारले कुनै राम्रो ठाउँमा लगेर राखिदियो भने जाने हो। तर ज्याला मजदुरी गर्न पाउने ठाउँ हुनुपर्यो।'
रनकैली जस्तै ३३ वर्षीय राजु घलानले को सामान बगाउँछ भनेर पानी घाँटीघाँटीसम्म आउञ्जेलसम्म कोठामै बसिरहेका थिए।
घलान आफूलाई थाहा भएदेखि सुकुम्बासी वस्तीमै छन्। उनी बुवाआमासँग त्यही बस्छन्। त्यसैले उनलाई पनि वस्ती छोड्न मन नलागेर त्यही बसिरहेका थिए, साथीहरूसँग।
पानीले डुब्नै लागेपछि शनिबार बिहान ३/४ बजेतिर डुंगा बनाएर निस्किएको घलान बताउँछन्।
'पानीमा कसरी निस्किने भन्ने भयो। त्यसैले म्याट्रिसमा खाली जार बाधेर डुंगा बनाएर तीन जना तैरिएर निस्कियौं,' उनले भने, 'खाली जार र जर्किन झुलले बाँध्दा पानीमा तैरिन सजिलो भयो।’
कोठा र बागमती नदी उस्तै भएको थियो। त्यो देख्दा अब छानो पनि रहेन भन्ने उनले सोचेका थिए। तर जग अडियो त्योबाहेक अरूकेही नरहेको उनको भनाइ छ।
'खोला बस्ने मान्छे खोलाले लग्यो,' उनले भने, 'सरकारलाई भोट दिनेबेलामा मात्र मान्छे चाहिन्छ अरूबेला वास्ता हुँदैन।'
उनी पनि माटो पन्छाउने र सफा गर्नैमा व्यस्त थिए। त्यही १८ वर्षदेखि बस्दै आएकी ४१ वर्षीया कमला राईको कोठाको सामानमात्र बगाएन। उनको वारिपारि बार लगाएको जस्ताको पाता र बास पनि बगाएर लिएर गयो।
उनी मंगलबार त्यही आसपासका मानिससँग सहयोग मागेर बास किनेर ल्याएर कोठा बनाउँदै थिइन्। उनको कोठामा बाढीले एउटा दराजबाहेक अरू कुनै पनि सामान बाँकी राखेको छैन।
उनकी दुई छोरी छन्। एउटी १२ र अर्को ९ मा पढ्छन्। उनीहरूको विद्यालयको पुस्तकदेखि ड्रेस पनि बाढीले बगायो।
'१९ वर्षअगाडि यहाँ आउँदा पनि आफूसँग केही थिएनँ, अहिले बाढीले फेरी त्यस्तै बनाइदियो,' उनले भनिन्, 'त्यतिबेला श्रीमान् साथ हुनुहुन्थ्यो र सजिलो थियो।'
यतिबेला आफूलाई बलियो बनाउन श्रीमान् साथमा भइदिएको भए हुन्थ्यो भन्ने लागिरहेको उनी बताउँछिन्।
उनलाई बागमतीले बस्ती नै डुबाएको भने अहिलेसम्म याद छैन।
'हिँउदामा महानगरको डोजरको डर बर्खामा बाढीको डर भयो,' उनले भनिन्, 'हामी त डरैडरमा बाँचिरहेका छौं। अब सरकारले अन्त सार्ने भनेको पनि वर्षौ भइसक्यो। सारेपनि जानुहुन्थ्यो।'
सुकुम्बासी वस्तीमा बस्ने १४० घरधुरीमा ओभानो कुनै पनि छैनन्। कतिपयको घर नै बगाएको छ भने धेरैको घरभित्र बाढी पसेको छ।
सोमबारदेखि नै सुकुम्बासी वस्तीका मानिसहरू आआफ्नो कोठाका सामानहरू निकालेर काममा सुकाउने, धुने र माटो पन्छाउने काम गरिरहेका छन्। माटोले आधा सामान नष्ट गरिदिएको छ।
अहिले सुकुम्बासी वस्तीमा बस्ने ठाउँमात्र होइन, पिउने पानी पनि छैन। थापाथलीको सुकुम्बासी वस्तीमा ७ सय जना बस्छन्। उनीहरूका लागि ५ हजार लिटरको ट्याङ्की ५ ठाउँमा राखिएको थियो। तीनवटा बाढीले बगाइदियो। अब दुईवटा ट्याङकीमा पानी ल्याएर हाल्न बाटो नभएको उनीहरूको भनाइ छ।
'ज्यान जोगियो, दुई छाक दु:ख सुख गरेर टारैला अब विपत्तिसँग के गर्न सकियो,' घलानले भने, 'जिन्दगीभरिको कमाइले बनाएको ठुठूल्ला घर बगाउँदा पनि मान्छेले सहेकै छन् हामी त पहिलादेखि नै सुकुम्वासी हौं।'