रोशीमा मापदण्ड विपरीत चलेका क्रसर तथा ढुंगा खानीबारे स्थानीयले यसअघि नै सचेत गराएका थिए। बाढीग्रस्त पनौती नगरपालिकाको वडा नम्बर १२ भूमेडाँडा क्षेत्रमा मात्रै १०–११ वटा क्रसर छन्। त्यसमध्ये ४ वटा त चालु हालतमै छन्।
तिनले अवाञ्छित रूपामा डाँडाकाँडा खन्ने र नदीमा गिटी, बालुवा र धुलो थुपार्ने गरेका थिए। तिनै सामग्रीलाई बाढीले बगाउँदा तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्यायो।
त्यस्तै पछिल्लो समय त्यस भेगमा जग्गा खण्डीकरण बढेको छ। जसले विध्वंश मच्चाउने बाढी–पहिरो निम्त्याउन सहयोगी भूमिका खेलेको स्थानीय बताउँछन्।
‘खानीको मापदण्ड छैन। खोलामाथि डस्ट (धुलो) थुपारिएको छ भनेर हामीले यसअघि पनि स्थानीय तहलाई जानकारी गराएका थियौं। रोशी कोशीमा जान्छ भनेर सबैलाई थाहा छ। यसअघि पनि बाढी गएको थियो। २०३८ सालमा पनि खतरनाक बाढी आयो। त्यसैले खानीलाई मापदण्ड लगाउनुस् भनेर मेयरलाई समेत जानकारी गराएका थियौं। उनीहरूले केही पनि गरेनन्,’ पीडितहरूको आक्रोश छ, ‘खानीवालाले पार्टीका मानिस हात लिए। खानीको विषयमा बोल्दा ज्यान धरापमा छ। कहाँबाट के गिरोह लाग्छ। ज्यान नै सिध्याइदिन्छ।’
गत बिहीबारदेखि शनिबार साँझसम्म परेको वर्षातका कारण पनौती नगरपालिकामा मात्रै अमेरिकी नागरिकसहित ५ जनाको ज्यान गएको छ। तीन जना घाइते छन्।
घाइतेहरूको आइतबार मात्रै उद्धार भएको हो। बाढीपहिराले पुरेका घरका भग्नावशेषबाट आइतबारमात्रै शव निकाल्न सकिएको विगतमा त्यस क्षेत्रका जनप्रतिनिधि समेत रहेका बसुन्धरा हुमागाईंले जानकारी दिए।
उनका अनुसार बाढीले पक्की सडक बगाएको छ। रोशी किनारका ५० भन्दा बढी घरहरू बाढीले बगाएको छ।
पक्की घरहरू एक–डेढ तलासम्म पुरिएका छन्।
बस्तीको बीचमा खोलो बगिरहेकाले बचेका संरचना पनि जोखिममा छन्। स्थानीयहरू जोखिमयुक्त ठाउँँमै बसिरहेका छन्।
‘जनप्रतिनिधि आएर डोजरले खोलाको बहाव फर्काइदिएमात्रै राहत हुन्थ्यो। तर वडाध्यक्षले आजको दिनमात्रै फोन उठाउनुभयो,’ स्थानीयले आक्रोश पोखिरहेका छन्।
बाढीग्रस्त रोशी कलाती पुगेर फर्किएका स्थानीय पत्रकार विनोद न्यौपानेले त्यस भेगमा मानवीय संकटको अवस्था रहेको बताए।
रोशीको शिर पनौती, बनेपा र धुलिखेलको पानीको स्रोत पनि हो। बाढीले खानेपानीको मुहान क्षेत्र बगाउँदा पानीको हाहाकार मच्चिएको उनले बताए।
त्यस भेगमा विद्युत र सञ्चार लाइन पनि टुटेको छ।
पूर्व प्रदेशमन्त्रीसमेत रहेका हुमागाईंले पनि बाढीले धुलिखेलसम्मै पानीको हाहाकार निम्त्याएको बताए।
त्यस्तै, बाढीले पनौतीको २.४ मेगावाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुर्याएको छ। परियोजनाको बाँध र पावर हाउसमै क्षति पुगेकाले विद्युत उत्पादन बन्द भएको छ।
पत्रकार न्यौपानेले सेतोपाटीलाई उपलब्ध गराएका तस्बिरहरू: